
लन्डन ३१ मे २०२३ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले गत डिसेम्बरदेखि गुम्बामा रहँदै आएका आर्ट लामा खैबा तिर्थ गुरुङलाई बिदाइ गरेको छ ।
गत शुक्रबार २६ मे का दिन उनलाई बीसीसी युकेका धर्मगुरुहरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला (इन्द्र) गुरुङलगायत कार्यसमितिका पदाधिकारी, पूर्वअध्यक्षहरु, सल्लाहकार, आमाहरु, भक्तजनहरुलगायतले खादा लगाई बिदाइ गरिएका हुन् । बिदाइ कार्यक्रममा बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङले खैबा तिर्थ गुरुङले आफ्नो छोटो बसाईमा बीसीसी युकेलाई दिएको अमूल्य समयको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।
अत्यन्त सरल स्वभावका खैबा तिर्थ गुरुले बीसीसी युकेको अल्डरसटस्थित गुम्बाको मेडिटेशन हलमा पंच बुद्धको चिन्ह, स्वर्ण चत्र, अष्ट पुजा देबीको चित्रहरु कोरेका थिए । जुन चित्रको सबै सहभागीहरुले समेत खुलेर प्रशंसा गरे । सो अवसरमा खैबा तिर्थ लामाले बीसीसी युके परिवारले दिएको मायाको प्रशंसा गर्दै आफूलाई भक्तजनहरुको सेवा गर्ने अवसर दिएकोमा अध्यक्षलगायत गुम्बा परिवारलाई धन्यवाद दिए ।

सेचन गुम्बा बौद्ध काठमाडौंमा कार्यरत खैबा तिर्थ गुरुङ बीसीसी युकेको निमन्त्रणामा दोस्रोपटक बेलायत आएका थिए । ५ महिनाको बेलायत बसाई पश्चात उनी नेपाल फर्किन लागेका हुन् । उक्त कार्यक्रममा बीसीसी युकेका संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पा, पूर्व अध्यक्ष लेप्टन नारायण प्रसाद गुरुङ, प्रमुख सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंगबहादुर गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, महासचिव मेजर हितमान गुरुङ, आमा सचिव शारदा गुरुङलगायत आमाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रमलाई महासचिव मेजर हितमान गुरुङले संचालन गरेका थिए ।
त्यस्तै, गत शनिबार २७ मे का दिन बीसीसी युके परिवार, भक्तजन, आफन्तजन र आमाहरुले गुम्बा र हिथ्रो एयरपोर्टबाट बिदाइ गरे ।







