लन्डन १ जून २०२३। लन्डनको रोयल बरो अफ ग्रीनवीचमा नेपाली मूलका सामाजिक अभियन्ता जीत रानाभाट उपमेयर निर्वाचित भएका छन् ।
एक वर्षअघि सोही बरोमा नेपाली समुदायबाट पहिलो काउन्सिलर निर्वाचित रानाभाटले आगामी एक वर्षलाई उपमेयरको जिम्मेवारी प्राप्त गरेका हुन् । बुधबार बेलुका वुल्लीच टाउन हलमा आयोजित विशेष समारोहमा रानाभाटले उपमेयरको शपथ लिँदै औपचारिक पदभार ग्रहण गरे । बरोका नयाँ मेयर समेतको शपथ तथा पदभार ग्रहण समारोहमा शुभकामना दिन स्थानीय नेपाली समुदायका कयौं प्रतिनिधि तथा अभियन्ताहरु पनि सहभागी थिए ।
गत वर्ष लन्डनको रोयल बरोमा नेपाली मूलबाट पहिलोपटक काउन्सिलर निर्वाचित हुन सफल रानाभाटले अहिले फेरि पहिलो उपमेयरको रुपमा जिम्मेवारी ग्रहण गरेकोमा स्थानीय नेपाली समुदायले गौरव र उत्साह महसुस गरेको छ । यसअघि रोयल बरो अफ ग्रीनवीचमा लेबर पार्टीका काउन्सिलरहरुबीच भएको प्रतिस्पर्धामा अन्यलाई पछि पार्दै रानाभाट उपमेयर निर्वाचित बनेका हुन् ।
रोयल ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) का अध्यक्षसमेत रहेका उनले यसअघि नेप्लिज प्रोफेसनल्स यूके, यती नेपाली एसोसिएसन, क्षेत्री समाज युके, पशुपतिनाथ मन्दिरलगायतका थुप्रै संघ संस्थामा नेतृत्व तहमा रहेर काम गरिसकेका छन् ।
त्यस्तै, एनआरएन यूकेको २०१७–१९ कार्यसमितिमा सदस्य तथा २०१९–२१ मा सचिवको जिम्मेवारी सम्हालेका उनले एनआरएनए यूकेको व्यापार प्रवर्द्धन विभागको संयोजकको भूमिका समेत निर्वाह गरेका थिए । नेपालमा कास्की घर भएका रानाभाट सन् २००८ मा बेलायत आएका थिए । श्रीमती र दुई छोरीको साथमा उनी साउथ इस्ट लण्डनमा बस्दै आएका छन् ।






