महेन्द्रनगर, धनुषा । जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चलमा बिहीबारदेखि मधुश्रावणी पर्व सुरु भएको छ ।
मिथिलामा नवविवाहिता बधुहरुले गर्ने सबभन्दा ठूलो व्रत मधुश्रावणी पर्व श्रावण कृष्ण पञ्चमीको दिनदेखि नै प्रारम्भ हुन्छ । तेह्र दिनसम्म विशेष विधिका साथ गरिने यो पर्वको समापन श्रावण शुक्ल तृतीया तिथिका दिन हुनेछ ।
सामाजिक सांस्कृतिक परम्परामा आधारित यो पर्व वैवाहिक जीवनको प्रवेशमा पहिलो वर्ष धुमधामसँग मनाइन्छ भने त्यसपछि प्रत्येक वर्ष सो अवसरमा कथा सुन्ने सुनाउने परम्परा छ । यस पर्वमा नवविवाहिता मैथिल पुत्रीहरु गीत गाउँदै श्रीमान्ले ल्याएको वा पठाएको फरिया, लेहंगा लगाएर सखीसँग फूलबारीमा फूल टिप्दै लोकाचारलाई रंगात्मक धरातलमा समेत उभ्याउने गर्छन् ।
साउन महिना आध्यात्मिक महिना हुनाका साथै धर्म ग्रन्थमा साउन महिनालाई मधुमासका रूपमा स्वीकार्नु तथा वर्षा ऋतुमा सर्पको भूमिमा आगमन र विचरणले मानव जीवन त्रस्त हुनाका साथै नाग–नागिनी र प्रकृतिका प्रतीक हुने कारणबाट पनि प्रेरित यो पर्व मुख्यतः शिव, पार्वती तथा नाग–नागिनीको पूजामा केन्द्रित रही १३ दिनसम्म मनाउने चलन छ ।
यो पर्व प्रायःजसो मैथिल समुदायका ब्राह्मण, कायस्थ, देव, सोनार जातिमा मनाइने गरिएको पाइन्छ ।






