
लन्डन १० जून २०२३ । समाजसेवी हित काजी गुरुङले गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
अल्डरसटस्थित एक रेस्टुरेन्टमा शनिबार साँझ यहाँ सक्रिय संस्थाका प्रमुख, प्रतिनिधि र आफ्ना समर्थकमाझ गुरुङले एनआरएनए यूकेको आउँदो निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनी तमुधिं यूकेको निवर्तमान अध्यक्ष, पर्वत वेलफेयर सोसाइटीको विश्व सञ्जालको प्रमुख संरक्षकसमेत छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा गुरुङले पहिले आफूलाई जिताउन र त्यसपछि प्रतिबद्धता र योजना सार्वजनिक गर्ने समेत घोषणा गरे । घोषणा कार्यक्रममा एनआरएनएका अध्यक्ष कुल आचार्य, एनआरएन यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्री, पुनम गुरुङ, पूर्वउपाध्यक्ष शेर सुनार, रोयल बरो अफ ग्रीनवीचका उपमेयर जित रानाभाट, काउन्सिलर जीव बेल्वासे, तमुधिं यूकेका अध्यक्ष हरि गुरुङ, सहारा यूकेका अध्यक्ष लेरि कुसाङ गुरुङ, व्यवसायी पुरण गिरी, कृष्ण तिमल्सिनालगायत पत्रकार र शुभेच्छुक, शुभचिन्तकको उपस्थिति थियो ।






