लण्डन १३ जून २०२३ । स्थानीय रस्मोर बरो काउन्सिलको बिशेष आयोजनामा अल्डरसटमा सम्पन्न “भिक्टोरिया डे” मा बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेको सहभागिता रह्यो ।
गत शनिबार ११ जुनका दिन सम्पन्न उक्त “भिक्टोरिया डे” मा बीसीसी युकेका सहकोषाध्यक्ष शान्तकुमार गुरुङको संयोजकत्वमा करिब ३० जनाले भाग लिएको हो । नेपालको राष्ट्रिय झण्डा, बेलायतको झण्डा, बीसीसी युकेको व्यानर, लोगो अंकित झण्डासहित बीसीसी युकेका धर्म गुरु टुल्कु जिग्मे सामतेन, बीसीसी युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा उपप्रमुख जगना गुरुङ, पुजा सहसंयोजक सानो लामालगायत आमाहरु आ–आफ्नो भेषभूषामा सहभागी भएका थिए ।
स्थानीय ग्रेटर रस्मोर नेपाली कम्युनिटी (जीआरएनसी) को समेत बिशेष भूमिका रहँदै आएको उक्त कार्यक्रममा बीसीसी युके संगसंगै थुप्रै नेपाली संघसस्थाहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा जीआरएनसीले खेलेको भूमिकाको कदर गर्दै आयोजक स्थानीय काउन्सिलले जीआरएनसीलाई ट्रेडिङ्ग अवार्ड प्रदान गरेको छ ।
स्थानीय काउन्सिलले बेलायतकी पूर्वमहारानी भिक्टोरियाको जन्मोत्सवको अवसरमा प्रत्येक बर्ष उक्त कार्यक्रमको आयोजना गर्दै आएको छ ।
स्मरण रहोस् बीसीसी युकेले प्रत्येक बर्ष उक्त कार्यक्रमका साथसाथै नेपाली मेला, गोर्खा कपलगायत स्थानीय च्यारिटी कार्यक्रमहरुमा सहभागी हुदै आएको छ ।






