लण्डन १३ जुन २०२३ ।

साउथ इष्ट लन्डनस्थित डायमण्ड बुद्धिष्ट सेन्टर डिबिसी यूकेले एक च्यारिटी कार्यक्रम गरेको छ ।
सेन्टरले वुल्लीचमा स्थापना गरेको बौद्ध गुम्बाको लागि कोष जुटाउन प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा आइतबार बेलुका च्यारिटी कार्यक्रम गरिएको हो । साउथ इष्ट लन्डनसहित बेलायतका विभिन्न क्षेत्रबाट करिब पाँच सय जना सहभागी कार्यक्रम उत्साहजनक रुपमा सम्पन्न भएको सेन्टरका अध्यक्ष योगेश गुरुङले जानकारी दिए । कार्यक्रमबाट गुम्बाको लागि दशौं हजार पाउण्ड संकलन भएको तर यकिन हिसाबकिताब हुन बाँकी रहेको उनले जानकारी दिए ।
झण्डै ६ लाख पाउण्ड लगानी भइसकेको गुम्बा स्थापनाका क्रममा लिइएको करिब ६ हजार पाउण्ड ऋण चुक्ता गर्न आवश्यक कोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम राखिएको अध्यक्ष गुरुङले बताए । कार्यक्रमबाट संकलित कोष सेन्टरको बाँकी ऋणमध्ये आधाभन्दा बढी चुक्ता गर्न पर्याप्त हुने उनको विश्वास छ । यसअघि सेन्टरका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ग्रीनवीच बरोका मेयर, विशेष अतिथि मेडवे बरोकी मेयर निना गुरुङसहित बेलायतस्थित थुप्रै नेपाली संघसंस्था र समुदायका प्रतिनिधिको सहभागिता थियो।
कार्यक्रममा डिबिसी यूकेका मूलगुरु खेन रिम्पोचे शिल लामा गुरुङले विशेष मनत्रोच्चारणसहित प्रवचन दिएका थिए भने कार्यक्रममा प्रमुख अतिथि मेयर तथा विशेष अतिथि मेयर निना गुरुङले शुभकामना मन्तव्य दिंदै गुम्बाले स्थानीय समुदायमा पुर्याएको योगदानको प्रशंसा गरेका थिए । अध्यक्ष गुरुङले कार्यक्रम सफल पार्न भूमिका खेल्ने सबै अतिथि, सहभागी, दाता तथा अहोरात्र खटिने डिबिसी यूके परिवारप्रति आभार प्रकट गरेका थिए । सो अवसरमा गुम्बामा विभिन्न रुपमा योगदान गर्ने व्यक्तित्वहरुलाई डिबिसी अवार्ड २०२ बाट सम्मान गरिएको थियो । जसमा धनज्योति गुरुङ, श्रद्धा गुरुङ, रिना गुरुङ, मनबहादुर छन्त्याल, वीरबहादुर गुरुङ र प्रेमबहादुर गुरुङ थिए ।
कार्यक्रममा डिबिसी यूकेका महासचिव हेम छन्त्यालले हेल्थ एण्ड सेफ्टी ब्रिफ, संयोजक चन्द्र गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष शर्मिला हिराचन थकाली, प्रमुख सल्लाहकार राम गुरुङ र ट्रष्टी बिसन गुरुङले मन्तव्य राखेका थिए । त्यसअवसरमा टुल्कु गुरुले आशीर्वाद तथा मूलगुरुसहित अन्य गुरुहरुले आस्था मंगल मन्त्रोच्चारण गरेका थिए । कार्यक्रममा चर्चित गायकद्धय धिरज राई र कृष्ण काफ्लेसहित डा सुदर्शन गुरुङ, मिसिका थापा, निर्मला थापा, निर्मला गुरुङ, रसना गुरुङ, यामु गुरुङले गायन प्रस्तुत गरेका थिए । आमा समूहसहित अन्य स्थानीय कलाकारले आकर्षक नृत्य देखाएका थिए ।
सन् २०१६ मा सुमलकुमार गुरुङको विशेष पहल र अगुवाइमा स्थापना भएको डिबिसी यूकेद्धारा लन्डनको वुल्लीचमा बौद्ध गुम्बा सञ्चालन हुंदै आएको छ ।






