
लन्डन १७ जून २०२३ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को नि:शुल्क अनलाइन सदस्यता खुला गरिएको छ । १५ जुनदेखि १५ जुलाई २०२३ सम्म अनलाइन सदस्यता खुला गरिएको एनआरएनए यूकेले जनाएको छ । एनआरएनए यूकेको आधिकारिक पोर्टलमार्फत सहजै संघको सदस्यता नवीकरण वा नयाँ बन्न सकिने र यसबापत कुनै शुल्क नलाग्ने बताइएको छ ।
एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले भने बेलायतको हाम्रो सदस्यहरुको डेटा बेलायेतको सर्वरमा राखिने छ, आइसीओमा दर्ता गरिएको छ, ‘डेटा प्रोटेक्सन एक्ट’ को अधिनमा रहेर सदस्यता खुलाइएको जनाउँदै सदस्यहरुका व्यक्तिगत विवरण गोप्य राखिने बताए । अध्यक्ष प्रेम गाहामगरले बेलायतका समस्त नेपालीलाई समेट्न र पञ्जीकृत सदस्यहरुलाई आर्थिक भार नपार्न एनआरएनए यूकेको सदस्यता नि:शुल्क गर्ने निर्णय गरिएको दोहोर्याए ।
बेलायतभरका सबैलाई नि:शुल्क सदस्य बनाउने आफूहरुको लक्ष्य रहेको गाहामगरले सुनाए । सदस्यता लिनेलाई धेरै लाभ हुने संघको भनाइ छ । उनले विदेशमा रहेका नेपालीको वंशजको नेपाली नागरिकता धरापमा परेकाले यसलाई कायम राख्नका लागि सबैलाई नि:शुल्क सदस्य बनेर सहयोग गरिदिन पनि आग्रह गरे ।
वंशजको नेपाली नागरिकता निरन्तरता अभियान कूटनीतिक र राजनीतिक तवरबाट समाधान गर्न सकिने भएकाले त्यसका लागि पञ्जीकृत सदस्यहरुबाट पैसा नउठाइने उनले प्रस्टयाए ।
एनआरएनए यूकेको निर्वाचन आउँदो २१ र २२ जुलाईमा गर्ने तयारी भएको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयुक्त विश्वासदीप तिगेलाको संयोजकत्वमा सदस्य सचिव कर्मा पहाडी शेर्पा र सदस्यहरु लक्ष्मी राई (लारा), रुद्र थापा एवं टेकबहादुर थापा क्षेत्री सम्मिलित एक निर्वाचन समिति समेत गठन भइसकेको छ । नयाँ कार्यसमिति घोषणा २२ जुलाई एम्पायर हल अल्डरसटमा गरिने एनआरएनए यूकेले जनाएको छ ।
सदस्य बन्न यो लिंकमा क्लिक गर्नुहोला:
https://members.nrnauk.org/
https://www.nrnauk.org/






