लण्डन १९ जुन २०२३ ।

बेलायतमा नेपालीमूलकी पहिलो महिला मेयर नीना गुरुङले शपथ लिएकी छन् ।
आइतबार रोचेस्टर क्याथेड्रल चर्चमा विशेष समारोहबीच वीसपबाट उनले शपथ लिएकी हुन् । गत ४ मेमा काउन्सिलर निर्वाचित उनी गत २४ मेमा मेडवे काउन्सिलको वार्षिक बैठकबाट मेयर निर्वाचित भएकी थिइन् । उनी मेडवेकी पहिलो नेपाली र बौद्ध धर्मावलम्बी मेयर हुन् । उनले ब्रिटिश चर्चमा वीसपबाट शपथ लिइरहंदा बुद्धिष्ट मन्त्र उच्चारण भएको थियो ।
उक्त समारोहमा बेलायती राजपरिवारका प्रतिनिधि लेफ्टिनेन्ट लर्ड पिटर गिलबर्ड, काउन्सिलरहरु, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, विश्व कीर्तिमानी आरोही पूर्व गोर्खा हरि बुढामगर, मेयर गुरुङका पिता प्रेम गुरुङ, पत्रकार भूमिराज राई लगायत झण्डै दुई सय पाहुना सहभागी थिए । एनआरएनए यूके अध्यक्ष गाहामगरले शपथ समारोहपछि मेयर बनेर गोर्खा र समस्त नेपाली समुदायको गौरव बढाएको भन्दै वधाइ दिएका थिए ।
उनले सफल कार्यकालको शुभकामना समेत दिए ।






