लण्डन २० जुन २०२३ ।

बेलायतमा विश्व मेला भएको छ ।
नेपाली समुदायको नेतृत्वमा गत शनिबार बेजिंगस्टकमा बेजिंगस्टक मल्टी कल्चरल फोरमले विभिन्न देशबाट आएका समुदायले आ–आफ्ना परम्परागत संस्कृति प्रदर्शन गर्न विश्व मेला गरेको हो । स्थानीय इस्ट्रप पार्कमा आयोजित मेलामा २७ देशका ७५ संस्थाहरुले भाग लिएका थिए । मेलामा सबै समुदायले आ–आफ्नो समुदायको सांस्कृतिक झलक, नृत्य प्रदर्शन गरेका थिए ।
कार्यक्रमको सुरुमा देशको राष्ट्रिय एवं जातीय पोशाक लगायतका समूहले स्थानीय सांसद मारिया मिलर, नेपाली राजदुतावास, बेलायतका नियोग उपप्रमुख रोशन खनाल, बेजिंगस्टक तथा डिन काउन्सिलका मेयर डेभिड लिक, काउन्सिल लिडर डा पल हार्भे, काउन्सिलरहरु सहित भएर सांस्कृतिक परेडको आयोजना गरेका थिए । परेडपछि सांस्कृतिक कार्यक्रम भयो । बेजिंगस्टक नेपाली समुदायतर्फबाट नेपालका लिम्बु जातिका धान नाचसहित माथिमाथि सैलुङ्गेमा बोलेको गीतमा नृत्यु प्रस्तुत गरेका थिए । नेपाली कलाकारको लिम्बु जातिको पहिरनबारे धेरै बेलायती र अन्य देशका स्थानीयले चासो राखेका थिए ।
मेलालाई सम्बोधन गर्दै नेपाली राजदुतावासका उपनियोग प्रमुख रोशन खनालले देशको संस्कृति र परम्परा जोगाउन गरेको प्रयास सह्राहनीय रहेको भन्दै त्यसको लागि स्थानीय काउन्सिल तथा मेयरको भूमिकाको प्रशंशा गरेकी थिइन् । आयोजक फोरमका अध्यक्ष शिवजी श्रेष्ठले आफ्नो मौलिक संस्कृति भनेको नै आफ्नो समुदाय र देशको पहिचान भएको बताए ।
उनले एक्लैभन्दा पनि मिलेर सहकार्य गर्दा अझ सामूहिक सफलता पाउने भएकोले स्थानीय सरकारसँग मिलेर अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान चलाएको बताए । फोरमको नेतृत्व गरेका श्रेष्ठ १८ वर्षदेखि बेलायत बस्दै आएका छन् । उनी नेपाल प्रहरीका पूर्व अधिकृत हुन् । उनी प्रतिष्ठित ‘अ प्लेस टु बि प्राउड अवार्ड’ का लागि समेत मनोनीत भएका छन् ।
स्थानीय काउन्सिलका अफिसर रोसका अनुसार कोभिडको कारण ३ वर्षसम्म रोकिएको विश्व मेला यसपटक ७ वटा कार पार्कमा ३ सय वटा गाडीहरु इन्ट्री गरिएको थियो । जसमा ३ हजारभन्दा बढीको उपस्थिति थियो ।






