लण्डन २५ जुन २०२३ ।

घुडामाथि दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको शिखरमा पाइला टेक्दै कीर्तिमान राखेर आफ्नो समुदायमा सचेतना फैलाएको भन्दै यूकेका प्रधानमन्त्रीका तर्फबाट प्रदान गरिने पोइन्ट अफ लाईट अवार्डबाट सम्मान गरिएको छ ।
सशस्त्र बल दिवस को अवसरमा १० डाउनिङ स्ट्रीट रिसेप्शनमा भेटेरान्स मन्त्री जोनी मर्सरले हरिलाई अवार्ड प्रदान गरेका थिए । य़ूकेमा प्रधानमन्त्री दैनिक ुपोइन्ट अफ लाइटु अवार्ड उत्कृष्ट व्यक्तित्वहरु, स्वयंसेवकहरू र आफ्नो समुदायलाई राम्रो बनाउन र सकारात्मक परिवर्तन गर्न समर्पितहरुलाई सम्मानित गरेर उनीहरुको समाज प्रतिको उदाहरणीय समर्पणको सम्मान हो ।
सो अवसरमा बोल्दै हरिले, ‘पोइन्ट अफ लाइट’ अवार्डद्वारा सम्मानित हुनु गौरवको कुरा भएको बताए । ब्रिटिस आर्मीमा गोर्खा हुँदाको समयले सेवाको महत्त्व जगाएको थियो अब मेरो जीवन मेरो परिवार, समुदाय र समाजको सेवामा रहनेछु, भने । कीर्तिमानी आरोही हरिले विभिन्न च्यारिटी र सामाजिक कार्यमा पनि उल्लेख्य सहयोग र योगदान दिँदै आएका छन् । हालसम्म ‘गोर्खा वेलफेयर ट्रस्ट’ लगायत सशस्त्र बल परोपकारी संस्थाका लागि ११ हजार पाउन्डभन्दा बढी सङ्कलन गरिसकेका छन् र आगामी वर्षहरूमा सगरमाथा आरोहणबाट विकसित प्लेटफर्ममार्फत ८ लाख ८४ हजार ९०० सगरमाथाको उचाइमा दुई वटा सुन्ना थपेर उठाउने लक्ष्य राखेका छन् ।
हरि बुढामगर बिश्वभरि अपाङ्गताको चेतना फैलाउन चाहन्छन् र अपाङ्गता भएमा सीमित हुनु हुँदैन भनेर देखाउन चाहन्छन् । हरिले बेलायत, नेपाल र विदेशका संस्थाहरूमा पनि आफ्नो अनुभव, अप्ठ्यारा, असजिला र आफुले गरेका संघर्षका कथा स्कूलहरू, विश्वविद्यालयहरू र सेना प्रशिक्षण केन्द्रहरूमा गएर बिभिन्न घटनाहरू सहित आफ्नो मानसिक स्वास्थ्यमा परेको प्रभावलगायतका बिषयमा आफ्नो भोगाई सुनाएर अरुलाई जागरुक र सचेत बनाउँदै आएका छन् ।






