लन्डन २७ जून २०२३ । बेलायत भ्रमणमा रहेकी नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही बेलायतमा स्वागत गरिएको छ ।
ठकुरी समाज साउथ इस्ट लन्डनले २६ जून २०२३ मा प्लमस्टिडको जिगेसा हलमा एक कार्यक्रम आयोजना गरी शाहीलाई भव्यताका साथ स्वागत गरेको हो । कार्यक्रमको प्रमुख अतिथिसमेत बनाइएका शाहीलाई अध्यक्ष हरिकुमार मल्लले दोसल्ला ओडाइ ५ सय ५ पाउन्ड नगद हस्तान्तरण गरेका थिए ।
कप्तान शाहीले आफूलाई यसरी स्वागत गर्दा अति हर्षित भएको भन्दै ठकुरी समाज साउथ इस्ट लन्डनका सबै परिवारप्रति धन्यवाद व्यक्त गरेकी थिइन् ।
समाजका अध्यक्ष हरिकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष कल्पना सेनले दिएकी थिइन् । समाजका रसचिव केशरबहादुर चन्दले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ सल्लाहकार प्रेमजंग शाहीले शुभकामना मन्तव्य राखेका थिए ।
कप्तान शाही म्याग्दी प्रवासी नेपाली संघ (मोना) युकेको आयोजनामा आगामी जुलाई १ मा रुसमूर सेन्ट्स एफसी अल्डरसटमा हुने ‘पाँचौं मोना भलिबल प्रतियोगिता–२०२३’ सहभागी हुन बिहीबार २२ जूनमा लन्डन आएकी हुन् ।
विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत हुने प्रतियोगितामा पुरुष, महिला, भेटेरान्स इभेन्टमा हुनेछ । तीमध्ये पुरुषतर्फ विजेताले १७ सय र उपविजेताले ११ सय, महिलातर्फ विजेताले ११ सय र उपविजेताले ६ सय पाउण्ड पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, भेरेरान्सतर्फ विजेताले १ हजार र उपविजेताले ६ सय प्राप्त गर्ने छन् । सो अवसरमा हुने छेलो प्रतियोगितामा विजेतालाई १ सय ५० पुरस्कार दिइनेछ ।
मोना यूकेको वार्षिकोत्सवको अवसरमा प्रत्येक वर्ष मोना भलिबल प्रतियोगिता हुँदै आएको छ । कार्यक्रमका लागि विभिन्न पुरस्कार प्रायोजन जारी रहेको आयोजकले जनाएको छ । एनआरएनए यूकेका पूर्वअध्यक्ष योगेन क्षेत्रीले महिला प्रथम पुरस्कारका लागि ११ पाउन्ड, वाटरमिलन मोर्गेजबाट किरण गुरुङले दोस्रो पुरस्कारका लागि ६०० पाउन्ड, एनआरएनए यूके ३०० पाउन्ड, अर्जुन पुनबाट २० जर्सी, गोर्खा फोर्स १२ जर्सी, प्रविन राना १० जर्सी, वर्ल्ड रेमिटका कमल गुरुङ र दिलरास गुरुङबाट भेटेरान्सका प्रथम पुरस्कार १ हजार पाउन्ड प्रायोजन गरिने पक्का भएको मोना यूकेले जनाएको छ ।






