
हित काजी गुरुङद्वारा एनआरएन युकेको अध्यक्षमा उम्मेदवारी दर्ता
लण्डन । तमू धिं यूकेका निवर्तमान अध्यक्ष हित काजी गुरुङले गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले निर्धारण गरेको निर्वाचन तालिकानुसार उनले शनिबार दिउँसो अनलाईनमार्फत उम्मेदवारी दिएका हुन् । गत १० जुनको साँझ अल्डरसटस्थित सुशी मोटोमा एक कार्यक्रमको आयोजना गरी एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्यलगायत केन्द्रिय पदाधिकारी, एनआरएनए यूकेका पूर्व अध्यक्षलगायत पदाधिकारी तथा सल्लाहकार, इष्टमित्र, साथीभाइ, आफन्तजन, शुभचिन्तक, विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बिशेष उपस्थितिमा एनआरएनए यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेनुसार उनले उम्मेदवारी दिएका छन् ।
सन् २००० सालमा स्थापना भएको तमू धिं यूकेको संस्थापक सचिव, सहकोषाध्यक्ष, कोषाध्यक्ष, ३ कार्यकाल उपाध्यक्षको भूमिका हुदै सन् २०२१/२२ को अर्थात् दसौं कार्यसमितिको सफल अध्यक्षको जिम्मेवारी वहन गरिसकेका गुरुङ पर्वत वेलफेयर सोसाईटी यूकेका संस्थापक अध्यक्ष, अन्तराष्र्टि«य पर्वत समाजका संस्थापक प्रमुख संरक्षक हुन् । अन्यन्त मिलनसार, स्पष्ट वक्ता, निडर स्वभावका साथसाथै गैरआवासीय नेपालीहरुको समस्याहरुसंग परिचित गुरुङले यसअघि पर्वत जिल्लाको कुस्मा नगर बिकास समितिको अध्यक्षता समेत गरिसकेका छन् । त्यस्तै, उनी बेलायतमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुको सल्लाहकारका साथसाथै एनआरएनए यूकेको वर्तमान कार्यसमितिको सदस्यको जिम्मेवारीमा रहेका छन् ।
चिरञ्जीवि ढकालको संयोजकत्वमा गठन भएको निर्वाचन समितिले २३ जुनमा सार्वजनिक गरेनुसार ४ हजार १ सय ८३ जना सदस्यले मतदानमा भाग लिन पाउने छन् । समितिकानुसार उम्मेदवारको पहिलो नामावली जुलाई २ तारिख दिउँसो १ बजे प्रकाशित गरिने छ भने उम्मेदवारीमाथिको दावी विरोध सोही दिन साँझ ५ बजेसम्मको समय तोकिएको छ । त्यस्तै, उम्मेदवारी फिर्ता गर्न चाहनेहरुले ४ जुलाईको १ बजेभित्र आफ्नो उम्मेद्वारी फिर्ता गर्न सक्ने छन् भने सोही दिन साँझ ५ बजे उम्मेदवारको अन्तिम नावमाली प्रकाशन हुने समितिले जनाएको छ । त्यस्तै, निर्वाचनको मतदान भने जुलाई २२ मा विहान ००।०० देखि साँझ ६ बजेसम्मका लागि तोकिएको छ । मतदाताहरुका लागि अनलाइनमार्फत मतदान गर्ने व्यवस्था मिलाउने भएको छ ।
निर्वाचन समितिले यसअघिनै अध्यक्षका लागि १५ सय पाउन्ड, उपाध्यक्ष र महासचिवका लागि ११ सय पाउन्ड, सचिव, कोषाध्यक्ष विभिन्न संयोजकहरुका लागि ८५० पाउन्ड, सह कोषाध्यक्षका लागि ८ सय पाउन्ड र सदस्यका लागि ४५० पाउन्ड उम्मेदवारी शुल्क बुझाई अनलाईमार्फत उम्मेदवारी दिनुपर्ने व्यवस्था गरेको थियो । सुनिल बाबू खड्काको अध्यक्षतामा रहेको एनआरएनए यूकेले नयाँ कार्यसमिति चयनका लागि चिरञ्जीवि ढकालको संयोजकत्वमा तमु धिं युकेका अध्यक्ष हरि गुरुङ र एनआरएनए युकेका संस्थापक सदस्य एवम् पत्रकार विपिन निरौला सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । सोही निर्वाचन समितिले एनआरएनए यूकेको नयाँ कार्यसमिति चयन गर्न लागिएको हो ।






