लन्डन ९ जुलाई २०२३ । नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरी बेलायत आइपुगेका छन्
नेपाल पत्रकार महासंघ बेलायत शाखाको वार्षिकोत्सव तथा च्यारिटी नाइटमा सहभागी हुन महासचिव पुरी शनिबार राति लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिएका हुन् । उनलाई शाखा अध्यक्ष ध्रुवराज अर्याल, संस्थापक अध्यक्ष नवीन पोखरेल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, युवा अभियन्ता वीरेन्द्र खड्का लगायतले विमानस्थलमा स्वागत गरे ।
शाखाले आइतबार साँझ अल्डरसटस्थित एम्पायर हलमा १२ औँ वार्षिकोत्सव र च्यारिटी डिनर गर्दैछ । च्यारिटीबाट संकलित रकम बेलायत तथा नेपालका पत्रकारहरुको व्यावसायिक सिप अभिवृद्धिका लागि खर्च गरिने शाखाले जनाएको छ ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथि रहने कार्यक्रममा बेलायतस्थित नेपाली समुदायका अभियन्ता र नेपाली संघसंस्थाका अग्रजहरुको उपस्थिति रहनेछ भने गायक धिरज राई, सपनकुमार राई, सितु खरेललगायत कलाकारहरुले मनोरञ्जन दिलाउनेछन् ।






