नेपाल पत्रकार महासंघ बेलायतको वार्षिकोत्सव तथा च्यारिटीमा उत्साहजनक सहभागिता

SHARE:

नेपाल पत्रकार महासंघ बेलायतको वार्षिकोत्सव तथा च्यारिटीमा उत्साहजनक सहभागिता

नरेन्द्र बस्नेत: महासचिब एफएनजे युके

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ ।

आइतबार बेलुका शाखा अध्यक्ष ध्रुवराज अर्यालको अध्यक्षतामा अल्डरसटको एम्पायर ब्यांकेटिङमा आयोजित कार्यक्रममा सयौंको संख्यामा यहाँस्थित संघसंस्था तथा समुदायका प्रतिनिधि एवम् सञ्चारकर्मीहरुको सहभागिता रह्यो।

नेपाली पत्रकारको सीप तथा क्षमता अभिवृद्धिमा सहयोग गर्न कोष जुटाउने उद्धेश्यले च्यारिटी कार्यक्रम गरिएको थियो । कार्यक्रममा उत्साहजनक रुपमा कोष संकलन भएको जनाउँदै शाखाले संकलित कोषको पूर्ण विवरण छिट्टै सार्वजनिक गरिने जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले सचेतक र मार्गदर्शकको रुपमा समाजमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताए। उनले प्रवासबाट प्रकाशित नेपाली संचारमाध्यमले नेपाली-नेपालीबीच सम्पर्क माध्यमको रुपमा, नेपाली डायस्पोराको गतिविधिबारे सूचना दिन र स्थानीय समुदायलाई नेपाली समुदायको बारेमा जानकारी दिएर महत्वपूर्ण सेवा दिइरहेको भन्दै प्रशंसा गरे।

राजदूत आचार्यले पत्रकारहरुलाई समाचारमा निस्पक्षता र विश्वसनीयता बढाउन आग्रह गर्दै संस्थागत विकासका लागि काम गर्न पनि सुझाव दिए। १२ औं वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ यूके शाखालाई बधाई दिंदै शाखाको उत्तरोत्तर प्रगतिको कामना पनि गरे।

त्यस्तै, विशेष अतिथि महासंघका केन्द्रीय महासचिव रोसन पुरीले पत्रकार महासंघले आफ्नो स्थापना कालदेखि नै नेपालमा प्रेस स्वतन्त्रताको साथसाथै नागरिक हक बहाल गर्न अभियान चलाउंदै आएको स्मरण गरे। उनले महासंघका १० वटा वैदेशिक शाखाहरु हाल क्रियाशील रहेको र देश तथा विदेशमा गरी झन्डै १३ हजार सदस्यहरु रहेको जानकारी दिए।

महासचिव पुरीले महासंघका विदेशस्थित शाखाहरुले विदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई नेपालसंग जोड्ने काम गरिरहेको बताउंदै त्यसको लागि धन्यवाद पनि दिए। उनले एनआरएनएको नेतृत्वमा देखिएको विवादले केही मुलुकहरुमा पत्रकारहरुलाई पनि विभाजित गरेको भन्दै एनआरएन नेताहरुलाई प्रवासी नेपाली समुदायलाई एकजुट गर्न मिलेर जान सुझाव दिए। उनले नेपाल पत्रकार महासंघ यूकेले नेपालमा दुखमर्कामा परेका पत्रकारहरुका लागि आर्थिक सहयोग गरेको भन्दै पत्रकारहरुको क्षमता अभिवृद्धिमा सघाउन च्यारिटी कार्यक्रम आयोजना गरेकोमा धन्यवाद पनि दिए।

स्वागत मन्तव्य राख्दै शाखा अध्यक्ष ध्रुवराज अर्यालले पत्रकारहरुको सीप तथा क्षमता अभिवृद्धि गर्दै गुणस्तरीय पत्रकारिताको प्रवर्द्धन च्यारिटी कार्यक्रमको लक्ष्य रहेको बताए।

शाखा स्थापनाकालदेखि नै यहाँको नेपाली समुदायको एक अभिन्न अंगका रुपमा रहँदै आएको स्मरण गर्दै अध्यक्ष अर्यालले समुदायका तर्फबाट प्राप्त निरन्तर साथ, सहयोग र ऐक्यबद्धताका लागि आभार प्रकट गरे ।

सो अवसरमा एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार २०२३ बाट शाखाका पूर्वअध्यक्ष समेत रहेका वीनेपाली डटकमका सम्पादक नरेश खपांगीमगरलाई पुरस्कृत गरियो । बेलायतमा खोजी पत्रकारितालाई प्रोत्साहन गर्ने लक्ष्यसहित स्थापित उक्त पुरस्कारको राशी ५ सय २ पाउण्ड छ ।

त्यसअवसरमा शाखाले पुरस्कार सिफारिश समितिका संयोजक डा बच्चुकैलाश कैनी तथा सदस्यहरु नवीन पोखरेल र लक्ष्मी राई लारालाई प्रमाणपत्र र मायाको चिनोसहित सम्मान गरेको थियो ।

सोही अवसरमा शाखाका सचिव खेमराज रानाभाट र पत्रकार श्रीभद्र खनालद्धारा लिखित फकल्यान्ड युद्ध, पहिलो विश्वयुद्ध र जंगबहादुरका विषय समेटिएको पुस्तक तीन फरक विषय पनि विमोचन गरिएको थियो ।

कार्यक्रममा लोकप्रिय गायक धिरज राई, दोहोरी गायक श्याम राना, नानु गुरुङ, सितु खरेल, सपनकुमार राई, आयुदीप गौतम लगायतले सांगीतिक प्रस्तुति गरेका थिए । त्यस्तै, मिसेस यूके नेपालकी विमला बुढाथोकीले आकर्षक नृत्य देखाएकी थिइन्।

कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक एवम् शाखा महासचिव नरेन्द्र बस्नेत र उपाध्यक्ष प्रमिला लावुङ राईले गरेका थिए। सो अवसरमा लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, लन्डन ग्रीनवीच बरोका उपमेयर जीत रानाभाटसहित विभिन्न बरोका काउन्सिलरहरु, बेलायतका प्रमुख नेपाली संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु, अग्रज पत्रकार एवम् सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिति थियो ।

वार्षिकोत्सव तथा च्यारिटी नाइट सफल पार्न कार्यक्रममा सहभागी हुने संघसंस्थाका प्रतिनिधि, समाजसेवी तथा विभिन्न रुपमा योगदान गर्ने सहयोगदाता, कलाकार, सहयोगी सबैमा शाखाले धन्यवाद ज्ञापन गरेको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!