लमजुङ समाज युकेको समर पार्टी

SHARE:

पूर्णचन्द्र म्हिगी गुरुङ

सोल्टी नमस्ते !
बाबु मामालाई नमस्ते गर अनि माइजुलाई पनि ।

ए बूढी आउ यता, उता ठाडो भाका सुन्न जाऊँ ।
बूढा उता दिदीबहिनीहरुको भलिबल हेर्न जाम्न ।
हुन्छ, हुन्छ उता ठेलो पनि हेर्न जाउला ।

ए नम्बर्नी उता जाउ छोराहरुको फुटबल हेर्न ।
हुन्छ यता बूढाहरु पनि खेल्दै छ भेटेरन ग्रुपमा ।

यस्तैयस्ता वार्तालाप र गनथनहरु सुनिन्थ्यो । उमेर अनुसारका हुलका हुल मानिसहरु कहिले यता, कहिले उता गरिरहेको देखिन्थे गत शनिबार २८ जुलाईका दिन टोमलिन्स्कट स्कुल, फ्रेम्लीको फराकिलो प्राङगणभित्र । लमजुङे हुले त्यात्तिकै किन भन्थ्यो र ? त्यहाँको दृश्यले व्यवहारमै प्रमाणित गरिरहेको स्पष्टा देखिन्थ्यो । तर, यो लमजुङे हुले भएर कसैप्रति खनिएको वा जाइलागेको दृश्य भने अवश्य होइनन् । यो त केवल एक अपासको एउटा माया, सद्भाव, आत्मियता र भ्रातृत्वताको एउटा गतिलो उदाहरण हो । परदेशको माटोमा झल्किएको घरदेशको माया हो । अझ भन्नु, यो त एउटा भूगोलको मायाको प्रस्तुति हो । माटोको मायाको प्रस्तुति हो । लमजुङसित प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भएको नाताको प्रस्तुति हो ।

साताभरीको प्रचण्ड घामको तापले तताइसकेको मन, मस्तिष्क र बेलायती भूमि सायद भागवानको कृपाले होला त्यसदिन केही सेलाएको थियो । तर, बीबीक्युको कालो धुँवा र तातो राप, विविध खेलकुदहरुमा भाग लिनेहरुको आफूले जित्ने चाप र कार्यसमितिका सदस्यहरु, पदाधिकारीलगायत पूर्वअध्यक्षहर र सल्लाहकारहरु साथै आमा समूहका अध्यक्षलगायत कार्यसमितिका सदस्यहरु, तथा स्वयम् सेवकहरु सबै आफूले पाएको जिम्मेवारी बहन गर्दै कुदाकुद र पहुनाको सत्कारमा जुटेको देख्दा मौसमी ताप घटे तापनि जिम्मेवार ब्यक्तिहरुको ताप भने पक्कै पनि घटेको थिएन बरु अरु बढेको थियो ।

सुकिलो लुगामा सुटेड, बुटेड, फिट एन्ड फाइन दाजुभाइहरु स्लिम्ड एन्ड ट्रिम्ड चिट्टिक्क सजिएको स्वर्गको अप्सराजस्ता दिदीबहिनीहरु, रिटायर्ड बट नट ट्रायड जेष्ठ नागरिक बाबाहरु र लमजुङको भेषभूषामा सिंगारिएका आमाहरु, स्मार्ट दुनियाँका स्मार्ट केटाकेटीहरु, कोही भरखरै सम्पन्न विश्वकपको समीक्षा गर्दै, कोही नेपालको राजनीतिको चर्चा गर्दै, एकातिर फुटबलको रौनक, अर्कोतिर दिदीबहिनीहरुको भलिबल उत्तिकै रोचक, त्यस्तै ठेलो प्रेमी दाजुभाइहरुको घम्साघम्सी, कतै ठाडो भाका घन्किरहेको, कतै दोहोरी त कतै झ्याउरे रन्किरहेको । संस्कृतिमा धनी जिल्लाको गहनाहरु घाँटु, सोरठीदेखी कौडा र चुड्का पनि घन्किरहेका थिए । त्यहाँको दृश्य हेर्दा लाग्थ्यो, हामी लमजुङकै कुनै गाउँको मेला वा बजारमा छौं । रोदी घरमा छौं वा वनपाखा, पखेरा र खेतबारीमा छौं ।

विभिन्न खेलकुद, औपोचारिक कार्यक्रम र विविध सांस्कृतिक कार्यक्रममा विभाजित गरिएको कार्यक्रमको संयोजन समाजका उपाध्यक्ष दलबहादुर गुरुङले गरेका थिए । खेलकुद सचिव प्रेमराज गुरुङको संयोजकत्वमा विविध खेलकुदहरु आयोजना गरिएको थियो भने सांस्कृतिक सहसचिव गीतकार तथा गायक कार साधुराम गुरुङको संयोजकत्वमा माला घलेले सांस्कृतिक कार्यक्रम सञ्चालनमा सहउद्घोषिका भएर साथ दिएका थिए ।

प्रायःजसो ढिलो सुरु गरिने नेपाली संस्कारलाई आत्मासात गर्दै सुरु गरिएको औपचारिक कार्यक्रममा अतिथिहरु नेपालबाट आएका भूपू गोर्खा तथा सफल व्यवसायी तथा राजनीतिज्ञ समाजसेवी गर्जबहादुर गुरुङ र उनकी धर्मपत्नी मनकुमारी गुरुङ, पूर्वप्राध्यापक तथा समाजसेवी कोमलनाथ सुवेदी र उनकी धर्मपत्नी शोभादेवी सुवेदी र हल्यान्डबाट आएका समाजसेवी, एनआरएनए हल्यान्डका पूर्वअध्यक्ष तथा हाल एनआरएनए आईसीसी सदस्य हिमाल गुरुङ र उनकी धर्मपत्नी सब्बु गुरुङलगायत थिए ।

सचिव गीतकार पूर्णचन्द्र गुरुङ (युनिल)ले सञ्चालन गरेको औपचारिक कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बोहत गुरुङले गरेका थिए भने कार्यक्रम संयोजक दलबहादुर गुरुङले स्वागत मन्तव्य दिएका थिए । कार्यक्रममा अतिथि गर्जबहादुर गुरुङलगायत आमा समूहकी अध्यक्ष जुना गुरुङ, गत वर्षको नेपाली मेला संयोजक परशु गुरुङ, यस वर्षका सल्लाहकार पूर्णराज गुरुङ र सल्लाहकार तथा एनआरएनए युकेका उपाध्यक्ष शेरबहादुर सुनार आदिले मन्तव्य दिए । अध्यक्षको हातबाट अतिथिलगायत यो वर्षभरीमा विभिन्न विधामा सफलता पाउने व्यक्ति तथा व्यक्तित्वहरु, समाजको दसौं वार्षिकोत्सवमा आर्थिक सहयोग गर्ने व्यक्तिहरु, नयाँ आजीवन सदस्यहरु, विभिन्न खेलकुदमा र भाग्यशाली चिट्ठामा पुरस्कार प्रायोजन गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो ।

अध्यक्ष गुरुङले प्रथम र दोस्रो पुरस्कार (मुख्य फुटबल), आमा समूह प्रथम र दोस्रो पुरस्कार र( भेटेरन फुटबल), सल्लाहकार इन्द्रद्रगुरुङ प्रथम पुरस्कार (महिला भलिबल), सल्लाहकार चन्द्रप्रसाद गुरुङ दोस्रो पुरस्कार, क्या. रनबहादुर गुरुङ तथा परिवार छेलोको सबै पुरस्कारहरू प्रथम र दोस्रो (मुख्य भेटेरन) दुवै र खेलकुद सचिव प्रेमराज गुरुङ सर्वोत्कृष्ट खेलाडी मुख्य फुटबलका लागि पुरस्कारहरु प्रायोजन गरेका थिए । भाग्यशाली चिट्ठामा गोर्खा किचेन, अल्डरसटका भीम गुरुङ, अटो वर्कस्, ब्लाकवाटरका भोज गुरुङ, भेटघाट रेस्टुरेन्ट, अल्डरसट तथा एनआरएनए युकेका उपाध्यक्ष तथा सल्लाहकार शेरबहादुर सुनार, मःम स्टेसन, अल्डरसटका अमित गुरुङ, सल्लाहकार पूर्णराज गुरूङ, डब्लूओटु हिरा गुरुङ भाचोक, गमबहादुर गुरुङ सानो काम्रे र सल्लाहकार तारा गुरुङले प्रायोजन गरेका थिए ।

खेलकुदमा यो वर्ष महिला भलिबलमा गुना गुरुङको ‘सी टिम’ले प्रथम स्थान हासिल गर्न सफल भयो भने माला घलेको ‘डी टिम’ले द्वितीय स्थानमा चित्ता बुझाउनु पर्‍यो । मुख्य फुटबलतर्फ पूर्व भूपू सैनिक स्कुल, बेसींसहर विजेता बन्यो भने उपविजेता एफसी ग्रेन्ज बने र एफसी ग्रेन्जका पुकार गुरुङले सर्वोत्कृष्ट खेलाडीको उपाधि चुमे ।

त्यसैगरी भेटेरनमा टिवाईसी र बाघेता क्रमशः प्रथम र द्वितीय भए । ठेलोतर्फ यो वर्ष युवा समूहमा डाँडथोकका भूपाल गुरुङले भालेको उपाधि चुमे भने गिलुङको हिरा गुरुङले पोथीमा चित्ता बुझाए । त्यस्तै बूढा समूहमा भने घेर्मुका तेज घले भाले भए भने लगातार चार वर्षसम्म कहिले भाले, कहिले पोथीको पोकारी बेर्दै आएको पसगाउँका कुलचन्द्रद्रगुरुङले यसपटक पोथीकै पोकारी बेरे ।

अन्तमा सबैलाई धन्यवाद दिँदै अध्यक्ष बोहत गुरुङले कार्यक्रम समापन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!