
लन्डन २० जुलाई २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही २२ जुलाईमा हुने चुनावमा डा. सुनिल शाह अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यको उम्मेदवार बनेका छन् ।
एनआरएनए यूकेबाट प्रतिनिधित्व हुने चार सदस्यका लागि उनी प्रतिस्पर्धामा उत्रिएका हुन् । उक्त पदमा ६ जनाले मनोनयन दर्ता गराएका छन् ।
उनले पछिल्ला केही वर्षमा गतिलो चर्चा कमाएका छन् । पुनम गुरुङ नेतृत्वको सन् २०१९–२०२१ को कार्यसमिति सदस्य पदमा निर्वाचित उनले उपल्लो तहका पदाधिकारीले भन्दा पनि बढी काम देखाएर सबैको प्रशंसा बटुलेका थिए । कोरोनाको बेला एनआरएनए यूकेले सञ्चालन गरेको राहत अभियानको नेतृत्व नै डा. साहले गरेका थिए । उनकै अगुवाइमा कोभिडको पहिलो उत्कर्षका बेला हरेक प्रदेशमा दुईका दरले जम्मा १४ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको थियो ।
दोस्रो चरणमा एनआरएनए यूकेले बेलायतमै झण्डै २ लाख ५० हजार पाउण्ड सहयोग जुटाएर आइसीसीमार्फत् नेपालमा सहयोग पठाउने अभियानको अगुवाइमा पनि डा. साह थिए । यसैगरी उनकै संयोजनमा बेलायतको नेपाली समुदायलाई कोभिडबारे सचेतना र परामर्श दिन नेपाली डाक्टर, नर्सको प्रत्यक्ष सहभागितामा लाइभ संवादका विभिन्न २६ वटा श्रृंखला सञ्चालन गरिएको थियो ।
बेलायतका चारै राज्यस्थित नेपाली समुदायलाई हजारौं औषधि, मास्कसहितका अत्यावश्यक सुरक्षा सामग्री वितरण गर्ने कार्य पनि उनले संयोजन गरेका थिए। एनआरएनए यूकेको स्वास्थ्य विभाग संयोजन गरेका डा. साहले आइसीसीको हेल्थ कमिटीमा पनि सेक्रेटरीका रुपमा योगदान गरे । सोहि कमिटीद्वारा दुई वर्षअघि लन्डनमा आयोजित ग्लोबल हेल्थ कन्फरेन्सको प्रमुख संयोजकको जिम्मेवारी पनि उनले नै सम्हालेका थिए ।
उनी हाल एनएचएसअन्तर्गत मिड योर्कशायर हस्पिटल ट्रस्टमा ‘कन्सल्टेन्ट ओरल एण्ड म्याक्सिलोफेसियल सर्जन’ हुन् । उनले युनिभर्सिटी अफ लिड्स र हडर्सफिल्ड युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरका रुपमा प्राध्यापन पनि गर्छन् । डेन्टिस्ट र एमबिबिएस दुवै योग्यता हासिल गर्ने नेपालकै पहिलो डाक्टर समेत हुने उनी । उनले एनआरएनएको अन्तर्राष्ट्रिय सञ्जालमार्फत संस्था र कम्युनिटीलाई जोड्ने, संस्थाभित्र फैलिँदै गएको इगोको भावना हटाउनेजस्ता कार्यमा पनि आफूले बेलायतमा सफल प्रयास गरिसकेको दाबी गर्छन् ।






