एटा संवाददाता
अल्डरसट । विश्व नेपाली साहित्य सम्मेलन यही अगस्ट १२, आइतबार युकेको साहित्यिक भूमि क्यान्टवरीमा हुने भएको छ ।
आयोजक तथा व्यवस्थापक समितिले गत शनिबार अल्डरसटस्थित एम्पायर हलमा पत्रकार सम्मेलन गरेर सम्मेलनबारे जानकारी गराएको हो । सम्मेलन बेलायतका लागि नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यमा क्यान्टवरी सीसी युनिभर्सिटीको हलमा हुने छ । विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय कार्यसमिति एवं विभिन्न २० मुलुकमा फैलिएका २७ शाखाहरुको आयोजना र युकेको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद्को सहआयोजनामा सम्मेलन हुने लागेको हो ।
सम्मेलनमा विभिन्न मुलुकका महासङ्घ प्रतिनिधि, आमन्त्रित प्रोफेसर तुलसी दिवस, प्राडा गोविन्द भट्टराईलगायत, प्राडा. नोबेलकिशोर राई, समालोचक खगेन्द्र संग्रौला, भारतीय हिन्दी साहित्यकार तेजेन्द्र शर्मा, जर्मन प्रोफेसर बि च्यान्लरको उपस्थिति रहने छ । सम्मेलनमा आमन्त्रित अतिथिलगायत पूर्वराजदूत मुरारीराज शर्मा, विजय हितान, भावेश भुमरी आदिको प्रस्तुति रहने छ । सम्मेलनका पाहुनाहरुलाई नेपाली राजदूतावास लन्डनले ११ अगस्टका दिन स्वागत गर्ने भएको छ । त्यस्तै, दोस्रो दिन १२ अगस्टमा मुख्य सम्मेलन, तेस्रो दिन १३ अगस्टमा साहित्यिक भ्रमण र चौथो १५ अगस्टमा सम्मेलन सहआयोजक नेपाली साहित्य विकास परिषद्ले स्वागत कार्यक्रम तथा रात्रिभोज आयोजना गर्ने भएको छ ।
सम्मेलनमा नेपाली साहित्यमा सुधार र विकास गर्नुपर्नेलगायत महत्वपूर्ण विषयमाथि गम्भीर छलफल र बहस हुने आयोजकले बताएको छ । प्रवेश निःशुल्कको व्यवस्था गरिएको सम्मेलनका लागि ५७ सदस्यीय आयोजक तथा व्यवस्थापक समिति गठन गरिएको संयोजक केदार सुनुवार संकेतले जानकारी दिए ।
पत्रकार सम्मेलनमा संयोजक संकेत, केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेला, साहित्य महासङ्घ साउथवेस्ट शाखाका अध्यक्ष लालसुन्दर राई र साउथ इस्ट शाखाका सदस्य अमित थेवेलगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न ५ वटा कृति विमोचन गरिने र पूर्वघोषित सम्मानहरु समर्पण गरिनेछ । सम्मेलन भव्य र सभ्य बनाउन आयोजकले सबैसँग साथ र सहयोगको आग्रहसमेत गरेको छ ।






