लन्डन २१ जुलाई २०२३ ।

नेपालबाट ३८ वर्षअघि हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ ।
एघारौं शताब्दीमा निर्मित खरानी रङको चून ढुङ्गाको सूर्य मूर्ति लन्डनस्थित नेपाली दूतावासले बिहीबार नेपाल पठाएको हो । बेलायतकै एक मूर्ति संग्रहकर्ताले उक्त मूर्ति दूतावासलाई हस्तान्तरण गरेका थिए । कलाकार लैन सिंह बाङ्देलको पुस्तक ’स्टोलन इमेजेज् अफ नेपाल’ मा सूचीबद्ध यो मूर्ति सन् १९८५ मा पाटनबाट हराएको ठानिएको छ।
मूर्ति ७९ सेमी अग्लो, ४९ सेन्टिमिटर लामो र १५ सेमी चौडा छ भने यसको तौल ४१ केजी छ । फिर्ता गरिएको मूर्ति पुरातत्व विभागमार्फत् पुरानै स्थानमा पुनर्स्थापना गरिने दूतावासले जनाएको छ ।
मूर्ति फिर्ताले हराएका साँस्कृतिक सम्पदाहरुको पुनर्स्थापना गर्ने नेपालको प्रयासमा सकारात्मक योगदान पुर्याएको दूतावासको विश्वास छ ।







