घान्द्रुक समाज युकेको दसौं वार्षिक समर भेटघाट

SHARE:

नारायणसिंह गुरुङ
फेलथम, लन्डन । मेश्रो बराह घान्द्रुक कल्याण समाज बेलायतले आफ्नो दसौं वार्षिक भेटघाट कार्यक्रम धुमधामका साथ मनाएको छ ।

गत २८ जुलाई शनिबार फार्नबोरोस्थित साम्युअल केडी स्पोर्टस् हलमा बिहान करिब १२ बजे समाजका सल्लाहकार पच्यु खेगी देवबहादुर गुरुङले परम्पराअनुसार मेश्रम बराहको पूजा गरी प्रसाद वितरणसहित कार्यक्रम थालनी गरेका थिए । त्यसअघि कार्यक्रम सञ्चालक महासचिव रोशन गुरुङले अतिथिहरुलाई आसन ग्रहण गराएपछि उपाध्यक्ष सत्रमान गुरुङले स्वागत मन्तव्य राख्दै हेल्थ एन्ड सेफ्टी सम्बन्धमा ब्रिफ गरेका थिए ।

उपाध्यक्षको स्वागत मन्तव्यपछि ३ वर्षे कार्यकाल पूरा भई हालै निवर्तमान अध्यक्ष भएका रि.क्या. पूर्णबहादुर गुरुङ र नवनिर्वाचित अध्यक्ष अर्जुनप्रसाद गुरुङले आ–आफ्नो मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष गुरुङले आफ्नो ३ वर्षको कार्यकालमा सबै गाउँले सबैले सहयोग गरी कार्यकाल सफल बनाएको भन्दै धन्यवाद दिए । नवनिर्वाचित अध्यक्ष गुरुङले पनि आफ्नो कार्यकालमासबैको सहयोग पाउने अपेक्षा राखेका थिए । त्यसपछि नेपालबाट बेलायत आएका मेश्रम बराह मावि स्तरोन्नति अर्थ संकलन उपसमितिका अध्यक्ष रि. क्या. कमल गुरुङले सरकारको नयाँ शिक्षा नीतिअनुसार विद्यालयको स्तरोन्नति, देशभित्र र बाहिरबाट अर्थ संकलन भइरहेको बताएका थिए । कार्यक्रमका अर्का अतिथि कादुरी एड्सका महानिर्देशक तथा घान्द्रुकको श्री मेश्रम बराह माविका भौतिक पूर्वाधार विभागका निर्देशक इन्जिनियर रि. मे. जुद्धबहादुर गुरुङलाइ मेश्रम बराह माविको भौतिक पूर्वाधार सम्बन्धमा र कादुरी एड्सबाट घान्द्रुक क्षेत्रमा भए, गरेका परियोजनाहरु सम्बन्धमा प्रकाश पारेका थिए ।

त्यसपश्चात् यसवर्ष भित्र संस्थाको आजीवन सदस्यता लिने सदस्यहरु र बिभिन्न विश्व विद्यालयहरुबाट ग्राज्युएट गरेका ६ जना विद्यार्थीलाई संस्थापक अध्यक्ष, निवर्तमान अध्यक्ष र वर्तमान अध्यक्षहरुले खादा र प्लेकबाट सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा संगीता गुरुङ, सविन गुरुङ, स्मरण गुरुङ, अनिता गरब्जा गुरुङ, अनुषा गुरुङ र दीपेश गुरुङ थिए । औपचारिक कार्यक्रमको अन्तमा संस्थाका निवर्तमान अध्यक्ष रि. क्या. पूर्णबहादुर गुरुङ र उनकी धर्मपत्नी पूर्ण गुरुङलाई घान्द्रुक आमा समूह युकेको तर्फबाट अध्यक्ष शान्ति गुरुङले भाङ्ग्र्रा र सल (पछ्यौरा) ओढाइ धन्यवादसहित बिदाइ गरेकी थिइन् ।

घान्द्रुके तमु भाषा प्रतियोगिता आयुष्मा गुरुङ प्रथम
औपचारिक कार्यक्रम सकिएपछि घान्द्रुक समाजको अत्यन्तै लोकप्रिय कार्यक्रम घान्द्रुके तमु भाषा प्रतियोगिता सम्पन्न गरिएको थियो । जसलाई संयोजकद्वय अमरप्रसाद गुरुङ र नारायणसिंह गुरुङले सञ्चालन गरेका थिए । २० वर्ष मुनिका बालबालिकाहरुलाई समेट्दै सन् २०१३ देखि गर्दै आएको कार्यक्रममा यसवर्ष ६ जनाको सहभागिता थियो । सहभागीहरुमा फेलथम निवासी नारायणसिंह गुरुङकी छोरी आयुष्मा गुरुङ प्रथम, अल्डरसट निवासी राधा गुरुङका छोरा प्रतिक गुरुङ द्वितीय र फार्नबोरो निवासी श्याम गुरुङका छोरा सञ्जोग गुरुङ तृतीय हुन सफल भए । यस वर्षको नगद पुरस्कारसहितको तमु भाषा रनिङ्ग सिल्ड आयुष्मा गुरुङले हात पारिन् । अरु विजेताहरुले पनि नगद र प्रमाण पत्र प्राप्त गरे । सबै प्रतियोगीहरुलाई पुरस्कारसँगै लेखक अमर लेम तमुद्वारा लिखित तमु भाषा सिक्नुहोस् नामक पुस्तक पनि वितरण गरिएको थियो ।

राफल ड्र को प्रथम पुरस्कार सीता गुरुङलाई
कार्यक्रममा एक तोला सुन प्रथम पुरस्कारसहितको राफल ड्र पनि खेलाइएको थियो । प्रथम पुरस्कार अर्थात् एक तोला सुनको पुरस्कार प्लमस्टिड निवासी सीता गुरुङले जित्न सफल भइन् । सो कार्यक्रम संयोजक राजकुमार गुरुङ, संगीता गुरुङ र नरकाजी गुरुङले सञ्चालन गरेका थिए । राफल ड्र का लागि दुई दर्जनभन्दा बढी आकर्षक पुरस्कारहरु समाजसेवी व्यक्तित्वहरुले प्रायोजन गरेका थिए । पुरस्कार वितरण गत वर्षको प्रथम विजेता उन्नति गुरुङबाट गरिएको थियो ।

लोक सांस्कृतिक कार्यक्रम
त्यस्तैगरी अन्तिमको लोकप्रिय कार्यक्रम थियो, लोक सांस्कृतिक कार्यक्रम । सो कार्यक्रममा नै घान्द्रुक समाजलाई नृत्यको माध्यमबाट अविछिन्न रुपमा योगदान दिँदै आएका नृत्यकारहरु पुनम गुरुङ, आरती गुरुङ, सनम गुरुङ, प्रशुन गुरुङ र सुप्रिया गुरुङलाई सम्मान गरिएको थियो । कार्यक्रमको बीच बीचमा नृत्य प्रदर्शनको माध्यमबाट सहभागीले मनोरञ्जन लिएका थिए । उनीहरुले अन्तमा फ्लोरमा सामूहिक नृत्यसमेत गरेका थिए ।

कार्यक्रमका लागि खाद्य संयोजक ज्ञानप्रसाद गुरुङ, श्रव्य दृश्यको व्यवस्थापन संयोजक ज्ञाना गुरुङ, पेय पदार्थको व्यवस्थापन संयोजकद्वय नेत्र गुरुङ र नवीन गुरुङ, सांस्कृतिक संयोजक सनम गुरुङ र अतिथि स्वागत तथा हरहिसाब दर्ता तथा व्यवस्थापन कोषाध्यक्ष याम गुरुङ र रमेश गुरुङ र पूर्ण गुरुङलाई जिम्मेवारी दिइएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!