सुमलकुमार गुरुङ
लन्डन । बेलायतस्थित तमुहरूको ७३ वटा संघ संस्थाहरूको संयुक्त प्रयासमा विगत केही वर्षदेखि तमुहरूको उत्पत्ति, इतिहास, धर्म, संस्कार संस्कृति, वेशभूषा, भाषा, साहित्य, चाड, सामाजिक आर्थिक स्थिति र कलासम्बन्धी एउटा त्रिभाषीय बृहत् कृति प्रकाशन गर्ने पहल भइरहेको छ । यस अभियानलाई ‘मिलेनियम प्रोजेक्ट’ नामकरण दिइएको छ । पुस्तकको शीर्षक ‘तमुहरूको सम्पदा’ अथवा ‘गुरुङ ह्यारिटेज’ राखेको खबर यस बृहत् प्रोजेक्टका लेखकमध्येका ‘भेषभूषा र भाषा साहित्य’का समूह नायक, सुमलकुमार गुरुङले बताएका छन् ।
क्या.रि. राजु गुरूङको संयोजनमा सन् २०१२ सालदेखि प्रत्येक वर्ष कार्यशाला सम्पन्न गरेर तमु बौद्धिक व्यक्तित्वहरूले आ–आप्mना धारणा कार्यशालामार्फत पेस गर्दै आएका छन् । यतिबेला तमु फोरमको निर्देशकको हैसियतमा क्या.रि. राजु गुरुङलाई सर्वसम्मत् चयन गरेपश्चात् उनको नेतृत्वमा तमुका धर्मगुरुहरूको राय बटुल्ने अभिप्रायले यही आउने १६ सेप्टेम्बरमा सम्पन्न गरिने तमु धर्मगुरुहरुको बृहत् अन्तरक्रिया सम्पन्न गर्ने भएको छ । त्यही कार्यक्रमसम्बन्धी खेगी गुरुहरूसँग फार्नबोरोस्थित गुर्खा प्यालेस रेस्टुरेन्टमा साधारणसभा सम्पन्न गरेको छ । कार्यक्रमका सहनिर्देशक हरि गुरुङले सञ्चालन गरेको साधारणसभाको सभाध्यक्ष क्या.रि. राजु गुरुङले गरेका थिए ।
सभालाई फोरमका अर्का सहनिर्देशक क्या.रि. देवराज तमुले सबैलाई स्वागत गर्दै कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए । निर्देशक क्या.रि. राजु गुरुङले अभियानलाई सफल पार्न सबैलाई आग्रह गर्दै हालसम्मको प्रगति संक्षिप्त रुपमा प्रकाश पारेका थिए । साधारणसभामा बोर्ड अफ काउन्सिलका अध्यक्ष मेजर रि. एलबी गुरुङ, धर्मगुरुहरू क्रमशः पैँडी पच्यु चिबा, यारजंग तमु, खेम्पो शिरलम गुरुङ र क्लिप्ह्री चिबा दानबहादुर तमुले सभालाई सम्बोधन गरेका थिए । सभाको अन्तमा बोर्ड अफ काउन्सिलका उपाध्यक्ष क्या.रि. डेमबबहादुर तमुले धन्यवाद ज्ञापन गरेर सभा बिसर्जन गरेका थिए ।






