
लन्डन २४ जुलाई २०२३ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले अप्ठ्यारो परिस्थितीमा पनि आफ्नो कार्यकालमा एनआरएन नागरिकता, सामाजिक सुरक्षाकोष लगायतका मुद्दामा प्रगति भएको दाबी गरेका छन् । उनले केन्द्रमा तीन जना अध्यक्ष भए पनि संघको एकताको लागि काम भैरहेको बताए । आचार्यले आगामी अगष्ट महिनामा हुने विशेष अधिवेशनमा असन्तुष्ट पक्षलाई समेटेर लैजान प्रयास भैरहेको बताए । उनले संघले गरेका सकारात्मक कार्यहरुको प्रचारप्रसार गरी दिन समेत आग्रह गरे ।
उपाध्यक्ष डा. हेमराज शर्माले आगामी ११ औं महाधिवेशनमा आफू अध्यक्ष पदको आकांक्षी भएको बताएका छन् । डा. शर्माले गैरआवासीय नेपाली संघ यूकेको निर्वाचन परिणाम घोषणासभालाई आइतबार सम्बोधन गर्दै आफू संस्थाको मर्यादाक्रममा समेत पहिलो उपाध्यक्षको पदमा रहेको हुँदा अध्यक्ष पदको स्वाभाविक दाबेदार भएको बताए ।
उनले अहिले संघको राष्ट्रिय समितिहरुमा निर्वाचन भैरहेकोले आगामी महिनामा अध्यक्षका आकांक्षीहरुबीच छलफल गरेर औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने बताए । उनले संघको निर्वाचनमा प्रविधिको प्रयोग गरेर मात्र पैसा, पोलिटिक्स र पावरको हस्तक्षेप रोक्न सकिने बताए ।
एनआरएनए यूकेका निवर्तमान अध्यक्ष सुनिलबाबु खड्काले आफूले चुनौतिबीच पनि नेतृत्व सम्हालेर ११ औं महाधिवेशन भव्य रुपमा सम्पन्न गर्न सकेकोमा सन्तोष व्यक्त गरे । उनले असन्तुष्ट पक्षलाई आफ्नो घर फर्केर समाजसेवाको बाटोमा आउन आह्नान गरे । संघका निवर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी नारायणदत्त कंडेलले गैरआवासीय नेपाली संघको अभियानमा लगातार ४ वर्ष लागेर समुदायको सेवा गरेको चर्चा गरे । उनले आगामी दिनमा गैरआवासीय नेपाली संघको अभियानबाट विश्राम लिने घोषणा गर्दै मात्रीभूमिको सेवामा भने लागि रहने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्षका अर्का प्रत्यासी दिनेश घिमिरेले गैरआवासीय नेपालीहरुको सम्पत्ति रक्षाको लागि संघमा सकृय रहने बताए । उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । प्रवासी नेपाली मंच यूकेका अध्यक्ष तुंगभद्र भुसालले युकेस्थित नेपाली समाज विभाजित रहेको चर्चा गर्दे आगामी दिनमा नयां समितिले समाजको एकताको लागि काम गर्न सुझाव दिए । उनले आगामी दिनमा नयां कार्यसमितिसंग मिलेर काम र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङ्गले साउथ र नर्थपोलमा उभिएको एनआरएनए यूकेलाई मिलाएर लैजाने जिम्मा नवनिर्वाचित अध्यक्षको भएको विचार व्यक्त गरे । उनले संघका केन्द्रीय पदाधिकारीहरुलाई घरभित्रको विवाद मिलाएर मात्र अघि बढ्न आग्रह गरे ।
कार्यक्रममा संघका आइसीसी सदस्य राजेन्द्र पुडासैनीले सिसाको घरभित्र बसेर अरुलाई ढुंगा हान्ने परम्पराको अन्त्य हुनु पर्नेमा जोड दिए । उनले संघको विधि र विधानभित्र रहेर संस्था संचालन हुनु पर्ने बताए ।
पत्रकार चिरन शर्माले गैरआवासीय नेपाली संघका केन्द्रीय नेताहरुले राष्ट्रिय समितिमा हस्तक्षेप गर्दा विवाद आएको बताए । उनले समाजका विकृतिमाथि प्रश्न उठाउने अधिकार पत्रकारसंग रहेको बताउँदै आगामी दिनमा संघका नयाँ कार्यसमितिमाथि प्रश्न गरिरहने बताए । संघका उपमहासचिव रामशरण सिमखडाले बेलायती समाजमा फाटेका मनहरु टाल्ने जिम्मा नयाँ समितिको काँधमा आएको बताए । उनले नयाँ नेतृत्वलाई कसैको दवावमा नपरेर काम गर्न सुझाव पनि दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष गुरुङले आफू कसैको प्रभावमा नपरी सबैलाई समेटेर लैजाने बताए ।
कार्यक्रममा संघका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ लगायतको कार्यसमितिलाई निर्वाचन समितिका संयोजक चिरञ्जीवी ढकालले प्रमाणपत्र वितरण गरे । कार्यक्रममा संघका केन्द्रीय पदाधिकारी लगायतको उपस्थिति थियो । पत्रकार विपिन निरौलाले संचालन गरेको कार्यक्रममा हरि गुरुङ, नारायण कँडेल, दयानिधि सापकोटालगायतले शुभकामना मन्तव्य दिएका थिए ।






