बेलायतमा पाँच संस्करणको ‘हाइक फर नेपाल’ सम्पन्न

SHARE:


लन्डन ३१ जुलाई २०२३ । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बेलायतको वेल्समा पाँचौं संस्करणको ‘हाइक फर नेपाल’सम्पन्न गरिएको छ ।

पोखरेली मञ्च यूकेको आयोजनामा वेल्सको ब्रेकनमा शुक्रबारदेखि आइतबारसम्म ‘हाइक फर नेपाल २०२३’ सञ्चालन गरिएको हो । तीन दिन लामो कार्यक्रममा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट वेल्स आएकाहरु स्थानीय क्याम्पिङ साइटमा आउटडोर क्याम्पमा बसेका थिए । जहाँ नेपाली खानाको स्टलदेखि सेल्फ कुकिङ, लाइभ संगीत तथा डिजे शो र बालबालिकाका खेललगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले यस वर्षको कार्यक्रममा झन्डै डेढ सय नेपाली सहभागी भएको जानकारी दिए । कार्यक्रमको मुख्य दिन शनिबार स्थानीय पेनी फेन हिलमा सामूहिक हाइकिङ गरिएको थियो । बालकदेखि वृद्धसम्मका सहभागीले नेपाल, बेलायत र वेल्सका राष्ट्रिय झन्डाहरु फहराउँदै झन्डै तीन घण्टा लामो हाइकिङ गरेका थिए । हाइकिङ शुरु हुनुपूर्व स्थानीय ब्रेकन बरोका डेपुटी मेयर जोन पावेल, ब्रेकन-धम्पुस ट्विन्ड एशोसिएसन अध्यक्ष डेभिड मेरडिथ, ‘वी विल राइज् फाउन्डेसन्’ अध्यक्ष ग्रान्ड मास्टर तुलसीकुमार गुरुङलगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा स्थानीय बेलायती अतिथिहरुका साथै नेपाली भिलेज यूकेका म्यानेजिङ डिरेक्टर मेजर खुशीमान गुरुङ एमभिओ, मञ्चका पूर्वअध्यक्ष मानप्रसाद गुरुङ, नेपालबाट आएका ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङ, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, भ्लगर सपना रोका मगर, व्यवसायी सूर्य गुरुङ, सहयोगी रेडिङ नेपाली समाज अध्यक्ष भिमसेन खड्कालगायतलाई आयोजकले सम्मान गरेका थिए ।

पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङले ‘हाइक फर नेपाल’ सिंगो नेपालको पर्यटन तथा मौलिक कला, संस्कृति प्रवर्द्धन र प्रचारप्रसारमा केन्द्रित रहेकाले सबै नेपाली एक ठाउँमा उभिएर सफल पार्न आह्वान गरे । हाइकिङका सहभागीलाई ‘वेल बिइङ प्रशिक्षक’ मास्टर इन्द्र गुरुङले सकारात्मक चिन्तन र शारीरिक तन्दुरुस्ती प्रोत्साहन गर्ने अभ्यास गराएका थिए ।

कार्यक्रमको अन्तिम दिन आइतबार वेल्समा निर्माण हुँदै गरेको ‘नेपाली भिलेज यूके’ को अवलोकन भ्रमण गरिएको थियो। बेलायतवासी सयौं नेपालीको सामूहिक लगानीमा स्थापित भिलेजमा नेपाली मौलिक शैली र संस्कृति, सभ्यता झल्काउने गाउँ अहिले निर्माण प्रक्रियामा छ । कार्यक्रम अवधिभर हरेक दिन बेलुका क्याम्पिङ साइटमा विभिन्न स्थानीय कलाकारका लाइभ सांगीतिक प्रस्तुतिसंगै डिजे डान्समर्फत् मनोरञ्जन गरिएको थियो।

सन् २०१७ मा पहिलोपटक ‘हाइक फर नेपाल’ आयोजना गरिएको थियो । कोभिड महामारीका कारण दुई वर्ष अवरुद्ध भएको कार्यक्रम अन्य वर्षहरुमा भने निरन्तर छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!