
लन्डन १ अगस्ट २०२३ । नेप्लिज् डक्टर्स एशोसिएसन यूकेको ३८औं साधारणसभा सम्पन्न भएको छ।
डा कमल अर्यालको अध्यक्षतामा उत्तर पूर्वी इंग्ल्याण्डको नर्विच टाउनमा गत शुक्रबारदेखि आइतबारसम्म तीन दिने कार्यक्रमसहित साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा एशोसिएसनआबद्ध नेपाली डाक्टर र उनीहरुका परिवारसहित करिब डेढ सय जनाको सहभागिता रह्यो ।
कार्यक्रमको दोस्रो दिन शनिबार बेलुका स्थानीय ‘सेन्सवरी सेन्टर अफ भिजुअल आर्ट’ मा आयोजित गाला डिनरमा किर्तीमानी आरोही पूर्व गोर्खा हरि बुढा मगर विशेष अतिथि थिए । सैन्य सेवाका क्रममा दुवै खुट्टा गुमाएर पनि कृत्रिम खुट्टाको सहायताले सगरमाथाको सफल आरोहण गरेका उनले प्रेरक मन्तव्य दिएका थिए ।
कार्यक्रममा उपस्थित हुन असमर्थ बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको शुभकामना सन्देश पढेर सुनाइएको थियो। त्यस अवसरमा धन्यवाद मन्तव्य दिँदै अध्यक्ष डा कमल अर्यालले संस्थामा ‘सदस्यता’, ‘परोपकार’ र ‘सहयोग’ गरी जम्मा तीन लक्ष्यलाई प्राथमिकतामा राखेर काम गरेको जानकारी गराए। सदस्यता वितरणमा १ सय १० प्रतिशतले वृद्धि भएको, भूकम्पले क्षतिग्रस्त नेपालको दुर्गम गाउँमा विज्ञान प्रयोगशाला र विद्यालय पुस्तकालय स्थापनालगायत परोपकारी कार्य अघि बढेको जानकारी गराए ।
उनले नेपालमा ‘की होल शल्यक्रिया’ कोर्सहरु आयोजना गर्ने, वीर अस्पतालमा सिमुलेसन सेन्टर स्थापना गर्ने, दमकको काठमाडौँ बाल स्वास्थ्य प्रतिष्ठानमा अक्सिजन प्लान्ट स्थापना गर्नेलगायतका अन्य कार्य पनि पाइपलाइनमा रहेको उल्लेख गरे।
संस्था परोपकारी र सदस्यता कोष दुवैतर्फ आर्थिक रूपमा स्वस्थ स्थितिमा रहेको तथा बेलायत र विदेशमा रहेका विभिन्न मेडिकल र नन-मेडिकल संस्थाहरूसँग सहकार्य गर्दै आएको पनि अध्यक्ष डा अर्यालले जनकारी दिए।






