विदेशमा गीतकारहरु जन्मनु सुखद् : डिल्ली चन्द

SHARE:

गीत लेखनलाई कर्म ठान्ने डिल्ली चन्द कोहलपुर–६ बाँकेमा जन्मेका हुन् । अचेल ‘तिमीबिना…’, ‘म तिम्री मनको मझेरीमा…’ बोलको गीतको म्युजिक भिडियो बनाउने तयारीमा रहेको उनी बताउँछन् । एकान्त र शान्त वातावरणमा गीत लेख्न मन पराउने सर्जक गीतकार डिल्ली चन्दसँग एभरेस्ट टाइम्स साप्ताहिकको निम्ति जानू काम्बाङ्ग लिम्बूले गरेको संक्षिप्त कुराकानी :

तपाईं अहिले केमा व्यस्त हुनुहुन्छ ?
हामी अहिले फेसबुकमा भाइरल, नवगायक सुनिल छिदालको आवाज, मेरो शब्द र सुनिल राईको सङ्गीतमा रहेको ‘तिमीबिना…’ बोलको गीत साथै राज सिग्देलको ‘म तिम्री मनको मझेरिमा…’ बोलको गीतको म्युजिक भिडियो बनाउने तयारी गर्दैछौं ।
गीत लेखनयात्रा कस्तो चल्दैछ त ?
गीत निरन्तर लेखिरहेको छु किनकि यो मेरो सानैदेखिको इच्छा हो । अचेल यसैलाई कर्म ठानिरहेको छु ।
तपाईं कस्ता खाले गीत लेख्नुहुन्छ ?
प्रायःसबै खालका गीतहरू लेख्छु । तर, विशेषगरी सेन्टिमेन्टल गीतहरू लेख्दा बढी आनन्द, सन्तुष्टि मिल्छ ।
गीत, संगीतको कामले मात्र जिउन सकिन्छ होला ? यो प्रतिस्पर्धाको जमानामा ?
गीत नै लेखेर जिउन सकिने अवस्थाचाहिँ छैन । तर, स्रोता दर्शकको मन जित्न सक्ने खालका गीत लेख्न र बनाउन सकेमा नाम र दामचाहिँ कमाउन सकिन्छ ।
गीतमात्र लेख्नुहुन्छ कि अरु विधामा पनि कलम चलाउनुहुन्छ ?
मेरो मनपर्ने विधा भनेको गीतलेखन नै हो, तर यसको अलावा गजल, मुक्तक, लघुकथा, गीतिकथा, दैनिकी र हाइकुहरु पनि अलिअलि लेख्छु ।
तपाईंलाई कस्तो अवस्थामा बढी गीतहरु फुर्छ्न ?
एकान्त र शान्त वातावरणमा रहँदा अलि बढी गीत फुर्ने गर्छन् ।
कुनै कृति बजारमा ल्याउनु भएको छ ?
कृतिको रूपमा कुनै कोसेली प्रकाशन गरेको त छैन, तर फुटकर रुपमा धेरै पत्र–पत्रिकाहरुमा प्रकाशित भएका छन् ।
जीवनमा तपाईंले पहिलोपल्ट कोरेको रेकोर्डेड गीत कुन हो ? त्यो गीत सुन्दा आफूले कस्तो महसुस गर्नु भो सेयर गर्न मिल्छ ?
गीतहरु त धेरै लेखियो तर रेकर्डिङ भने दर्जन जति भए होलान् । अरु पनि अझै आउँदैछन् । मेरो पहिलो रेकर्डेड गीत ‘म त चोखो माया गर्छु…’ भन्ने बोलको गीत हो । जसमा आवाज स्वरुपराज आचार्यको रहेको छ । पहिलोपटक सामाजिक सञ्जाल र आफ्नै घर नजिकैको एफएमहरुमा बज्दा निकै खुसी भएको थिएँ । र, साथीभाइहरुलाई समेत सुनाएको थिएँ ।
तपाईंले लेखेका गीतहरू अहिलेसम्म कतिवटा रेकर्ड भएका छन् ?
मैले लेखेका गीतहरू अहिलेसम्म ६ वटाा रेकर्ड भइसकेका छन् । केही गीतहरू अरु स्रस्टाहरुले समेत लिनु भएको छ । सायद, छिटै रेकर्डिङ हुन्छ होला ।
देश, विदेशमा धेरै गीतकारहरु जन्मिरहेका छन्, तपाईं यसलाई कुन रुपले हेर्नुहुन्छ ?
देश, विदेशमा गीतकारहरु जन्मिनु सुखद् कुरा हो । तर, संख्यात्मकभन्दा गुणात्मक गीतहरु स्रोता, दर्शकहरुलाई दिनसक्नु पर्छ । कुनै पनि कुरामा हात हाल्नुभन्दा पहिला त्यसबारे ज्ञान हुन जरुरी छ । जस्तैः छन्द, शब्द–अर्थ, अनुप्रास, ताल, लय, रस, स्केल मिल्ने गीत लेख्नु सक्नु नै गीतकारको सफलता हो । अहिले गीतकारहरु त धेरै नै छन् तर क्वालिटीको गीतकार कम छन् जस्तो लाग्छ ।
यो क्षेत्रमा परिवारको कत्तिको सपोर्ट पाइरहनु भएको छ ?
जीवनमा हरेक कार्य गर्नुभन्दा अगाडि कसैको सल्लाह, सुझाव र सहयोग चाहिन्छ । मलाई पनि मेरो श्रीमती र परिवारबाट सपोर्ट निरन्तर पाइरहेको छु ।
तपाईंले लेखेका गीतहरूमध्ये अति नै मनपरेको एउटा गीत छान्नु परेमा कुन छान्नुहुन्छ ?
आपूmले सिर्जना गरेका सबै गीत राम्रै लाग्छ । अब एउटा रोज्नुपर्दा मेरो पहिलो गीत अलि बढी नै सेन्टिमेन्टल छ, स्वरुपराज आचार्यजीले आवाज दिनुभएको छ, ‘म त चोखो माया गर्छु…’ भन्ने गीत रोज्छु ।
नामकै लागी भए पनि अहिले गीतकारहरुले खुबै एल्बम निकाल्ने चलन भएको छ, यसलाई कुन रुपले हेर्नुहुन्छ ?
वास्तवमा नामभन्दा पनि गुणस्तरीय र स्रोता दर्शकले मन पराउने खालका गीतहरू सिर्जना गर्नसक्नु ठूलो कुरा हो । नाम कमाउनका लागिमात्रै गीत, सङ्गीत क्षेत्रमै लगानी गर्नुपर्छ भन्ने होइन, आफूमा रहेको क्षमता र गीत÷सङ्गीतप्रतिको लगावले दर्शक स्रोताहरुको मन जित्नु र नाम कमाउनु फरक कुरा हो ।
गीतकारहरुको लागि राज्य र गीतकार संघले के गरिदिए हुन्थ्यो जस्तो लाग्छ ?
गीतकार संघले गीत, सङ्गीतलगायत गीतकारका प्रायःजसो धेरै विषयमा आवाज उठाउनेदेखि लिएर हकहितका धेरै काम गरिरहेको छ । अझ राज्यको तर्फबाट पनि संघको कुरामा विशेष चासोका साथ काम गरिदिए राम्रो हुन्थ्यो ।
प्रायः रेडियो एफएमहरुले गीत बजाउँदा गीतकारको नाम लिँदैनन्, एक गीतकारको नजरले हेर्दा त्यो कत्तिको ठीक लाग्छ ?
यो अति नै दुःखद् कुरा हो किनभने गीतकार सम्पूर्ण गीतको मेरुदण्ड हो । जसले मीठो शब्द, सिर्जना गर्छ, उक्त गीतलाई सङ्गीतकारले सिल्पी बनाउँछन् र गायकले प्राण भर्छन्, कहिलेकाहीं त लगानी पनि गीतकार आफैंले गर्छ ।
यहासम्म कि लय बनाउँदादेखि म्युजिक भिडियो बनाउञ्जेलसम्म गीतकारकै परिकल्पनामा काम हुन्छ तर यदि गीत हिट भएको खण्डमा गायक, सङ्गीतकारदेखि अभिनय गर्नेसम्मका कलाकारहरुको नाम र चर्चा हुन्छ । तर, गीतकार ओझेलमा पर्छ । त्यसकारण यस्तो उपेक्षा गरिनु राम्रो होइन ।
अब गीत, सङ्गीतमा सुधार ल्याउन, के के गर्नुपर्ला ?
राम्रा गीत, सङ्गीतको प्रचारप्रसार र विकृतिहरुलाई तिरस्कार गर्दै जाने र सभ्य भाषालाई प्रोत्साहन गर्नुपर्छ ।
नेपालमा नाम चलेका एकमात्र गीतकारलाई उत्कृष्ट पङ्तिमा छानेर राख्दा कसलाई छान्नुहुन्छ ?
नेपालमा थुप्रै राम्रा गीतकारहरु हुनुहुन्छ । तर, नाम लिनुपर्दा पुरानो गीतकारहरुमध्ये किरण खरेल र नयाँ पुस्ताका गीतकारमध्येबाट राजकुमार बगर ।
अन्त्यमा, भन्नुपर्छ जस्तो लागेको केही कुरो छ भने राख्न सक्नु हुन्छ ?
सम्पूर्ण गीत, सङ्गीतलाई माया गर्नुहुने दर्शक स्रोताहरुलाई हार्दिक नमन, सधंै गीत, सङ्गीतलाई माया गरिदिनुहोस् ।
साथै हल्लैहल्लाको पछाडि लाग्नुभन्दा यथार्थपरक र स्थिर गीत, सङ्गीतलाई माया गरिदिनुहोस् । अन्तमा, मलाई अन्तर्वार्ताको लागि यो अवसर दिनुभएकोमा यहाँ र चर्चित पत्रिका एभरेस्ट टाइम्सप्रति पनि धेरै आभार र धन्यवाद व्यक्त गर्दछु ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!