
लन्डन १ अगस्ट २०२३ । चितवन एड ट्रस्ट (क्याट) यूकेको अध्यक्षमा कृष्ण तिवारीले सर्वसम्मत चयन भएका छन् ।
नेप्लिज् कम्युनिटी सेन्टर सर्रेमा आइतबार भएको दशौँ अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्ष निर्वाचित तिवारीले यसअघि संस्थामा ट्रस्टी, दुई कार्यकाल उपाध्यक्ष एवम् कार्यसमितिको महासचिवजस्ता महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
अधिवेशनले क्याट यूकेको सञ्चालन अब १५ सदस्यीय ट्रस्टी बोर्डबाट गराउने निर्णय गरेको छ । हाल कायम ९ ट्रस्टीलाई निरन्तर राख्दै थप ६ जना ट्रस्टी मनोनित गरिने अध्यक्ष तिवारीले जानकारी दिए । ट्रस्टीहरुमध्येबाटै एक/एक जनालाई सचिव र कोषाध्यक्षको जिम्मेवारी दिइनेछ।
यसअघि संस्थाका निवर्तमान समिति अध्यक्ष रितेशराज पाण्डेको अध्यक्षतामा सम्पन्न अधिवेशनमा महासचिव रमेश श्रेष्ठ र कोषाध्यक्ष डा सुरज पौडेलले क्रमश: प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कृष्ण तिवारीले स्वागत गरेका थिए । सो अवसरमा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष हित काजी गुरुङ, विशेष अतिथि तमुधिं यूके वरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ, यती नेपाली एशोसिएसन पूर्वअध्यक्ष उमेशराज मोक्तानलगायतको उपस्थिति थियो ।
क्याट यूके बेलायतमा बस्ने चितवनेलीहरुको साझा संस्थाका रुपमा सन् २००४ मा स्थापना भएको थियो । जिल्लाको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग पुर्याउने मुख्य लक्ष्यसहित ;’रु भएको संस्थाले जिल्लाका विकट गाउँहरुमा एम्बुलेन्स वितरण, स्कुल तथा स्वास्थ्यचौकी निर्माणदेखि भरतपुरमा ब्लड बैंक स्थापनासम्मका अभियानमा बेलायतबाट दशौँ लाख रुपैयाँको सहयोग पठाइसकेको छ ।






