
सन्जिब राई
लन्डन ७ अगस्ट २०२३ । किरात राई यायोक्खा बेलायत केन्द्रीय कार्यसमितिले पहिलो किरात राजा यलम्बरहाङ स्मृति दिवस भव्यरुपमा मनाएको छ ।
नेपाली दूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालको प्रमुख आतिथ्यता र नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पालगायत बेलायतका विभिन्न संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरुको आतिथ्यतामा ५ अगस्ट २०२३ मा बेलायतवासी किरात राईहरुले नौ वर्ष अगाडि खरिद गरिएको जग्गा किरात राई हाउस ग्याम्बलस लेनमा स्मृति दिवस मनाइएको हो ।
संस्थाका अध्यक्ष मेजर योगेश कोयी राईको अध्यक्षतामा भएको कार्यक्रममा किरात राई यायोक्खा नेपालका पूर्वअध्यक्ष डा. सुमाया राई, निवर्तमान अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार कल्पना राई, प्रसिद्ध गायक धिरज राई, प्राज्ञ भिषण मुकारुङ, गायक निश्चल राईलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति थियो ।

संस्थाले पहिलो किरात राजा यलम्बरहाङको सम्झनामा यही साल स्थापना गरेको पहिलो यलम्बरहाङ भलिबल कप कार्यक्रमको प्रमुख आकर्षण रहेको थियो । कपमा बेलायतका विभिन्न सहरहरुबाट १५ टिमको प्रतिस्पर्धा रहेको थियो । पहिलो यलम्बरहाङ कप १६ सय पाउन्ड नगद पुरस्कारसहित केन्ट भलिबल क्लबले हात पारेको छ भने ग्रिनवीच भलिबल परिवारले १ हजार पाउन्ड नगदसहित दोस्रो हुन सफल भएको छ ।
महिला तर्फको सुम्निमा भलिबल कपको उपाधि विनचेस्टर भलिबल क्लब १ हजार पाउन्ड नगदसहित विजयी बनेको छ भने दोस्रो स्थानमा मोना भलिबल क्लबले ६ सय पाउन्ड नगद जित्न सफल भएको छ । कार्यक्रममा गत साल स्थापित यलम्बर आर्चरी च्याम्पियनसिप पनि अर्को आकर्षण थियो । दोस्रो यलम्बर आर्चरी च्याम्पियन रबिन पुनले हात पारेका छन् भने पुरुषतर्फ बिसी राई, आशीष लिम्बु र अम्बर राईले क्रमश: पहिलो, दोस्रो र तेस्रो पुरस्कार जितेका छन् ।
महिलातर्फ सुमित्रा राई प्रथम भएकी छन् । पुनम पुन र चन्द्रावती राई दोस्रो र तेस्रो भएका छन् । युथ क्याटेगोरीमा स्पन्दन राई, स्तम्भ राई र रिचा राई क्रमैसँग पहिलो, दोस्रो र तेस्रो बन्न सफल भएका छन् ।

कार्यक्रममा संस्थाको मुखपत्र बिमोचन, किरात राई हाउस खरिदको नवौ वार्षिक उत्सब मनाइनुका साथै साल्पा सिलीचुङ संरक्षण सहयोग अभियानको उद्घाटन पनि गरिएको थियो । अतिथि कलाकारहरु प्राज्ञ भिषण मुकारुङ, धिरज राई, निश्चल राईलगायत बेलायतका कलाकारहरुलाई सम्मान गरिएको थियो । साथै बेलायतमा डिग्री हासिल गर्ने नानीहरुलाई सामूहिक ग्राजुयसन सम्मान तथा साहित्य, कला खेलकुदमा बेलायतबाट विशेष योगदान पुर्याउने डा. सुमाया राई, कवि नरेश काङमाङ राई, गीतकार सन्जिव पारदर्शी राई लगायतका विशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
साँझमा कार्यक्रम राजा यलम्बर हाङलाई समर्पित सेवा सेवारो हौ राजा यलम्बर हाङ लगायतका गीतहरु सहितको यलम्बर सांस्कृतिक श्रृंखला गरी समाप्त भएको थियो ।
संस्थाका सल्लाहकार मास्टर राष्ट्र राईको प्रमुख संयोजकत्व र नेफिन यूकेका अध्यक्ष शेर्पाको सहयोगमा सम्पन्न यलम्बरहाङ कप साथै उपाध्यक्ष मेजर भूपजित राईको संयोजकत्वमा सम्पन्न यलम्बर आर्चरी च्याम्पियनसिप हरेक वर्ष राजा यलम्बरहाङको सम्झनामा मनाउँदै जाने संस्थाको योजना रहेको संस्थाका कार्यवाहक महासचिव ईश्वर चाम्लिङ राईले जानकारी दिए ।











