लन्डन । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाले ‘नारायण रायमाझी सांगीतिक साँझ-२०८०’ का लागि साढे ५५ हजार ५५ रुपैयाँ सहयोग गरेको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भाद्र १५ गते शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा हुने साँझका लागि प्रतिष्ठान यूकेले उक्त सहयोग गरेको हो । एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीत प्रस्तुत गर्ने जनाइएको छ ।
उनले कारगिल (रेलिमै) बाट आफ्नो सांगीतिक यात्राको सुरुआत गरेका हुन् । रायमाझीका फूलबुट्टे चोलीमा, राम्दी पुल तरनेबित्तिकै, राम्दी पुल तर्ने, गेटमा बेली जाई, कालो केशमा रातो रिबन, शिरमा रिबन, तिनाउ खोलामा, पसिनाले पैसा साटेर, माया पैँचो नदेऊ साइँली, लाइछौ बेसन, नमुछे आमा दहीमा टीका, हाँसेर बोलिदेऊ माया, सान्नानीले झुक्यायो मलाईलगायत सयौँ गीत सबैका मन मुटुमा बसेका छन् ।
रिमा फिल्म प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशकसमेत रहेका उनले गोर्खा पल्टन, परदेशी चलचित्र समेत बनाएका छन् ।
रायमाझी लोकगीत, संगीत, संस्कृतिको निरन्तर साधक हुन् । रायमाझीले आफ्नो सांगीतिक यात्रा भने विसं २०४२ सालदेखि सुरु गरेका हुन् ।






