
जयराम तामाङ
लन्डन १० । बेलायतवासी नेपालीहरुले यस वर्ष यहाँको हाउस अफ कमनमा दसैं चाड मनाउने भएका छन् ।
बेलायतको मन्त्रीहरुको भेला भएर नीति नियमहरुबारेमा छलफल गर्ने ठाउँ हाउस अफ कमनभित्र मनाउन पाउने अवसर नेपाली एसोसिएसन विल्सायरलाई प्राप्त भएको अध्यक्ष ज्ञानप्रसाद गुरुङले जनाएका छन् । अध्यक्ष गुरुङका अनुसार आगामी अक्टोबर २६ तारिखको दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म हाउस अफ कमनभित्र दसैं कार्यक्रम हुने भएको छ ।
अध्यक्ष गुरुङले हाउस अफ कमनमा दसैं मनाउन पाउनु संस्थाको लागि गौरवको विषय रहेको बताए ।
‘यो अवसर प्राप्त गर्नु हाम्रो संस्थाको लागि गौरवको विषय हो । र, हामीहरुले प्राप्त गरेको यो अवसरलाई भरपूर सदुपयोग गर्दै दसैंको उत्सव आयोजना गरी सफलतापूर्वक सम्पन्न गर्नु हामी सबैको जिम्मेवारी हो ।’
उक्त दसैं पार्टीमा जानका लागि सशुल्क यातायात सुविधा रहेको आयोजकले जनाएको छ । सुइन्डनदेखि लन्डनसम्म र लन्डनदेखि सुइण्डनसम्मको लागि प्रतिव्यक्ति १६ देखि २० पाउन्ड भाडा तोकिएको छ । दसैं पार्टीको विशेष भोजनको लागि ७० देखि ८० पाउन्ड शुल्क तोकिएको अध्यक्ष गुरुङले बताए ।
पार्टीमा सहभागी हुने पुरुषहरुले स्मार्ट कोट र महिलाहरुले सारी लगाउनु पर्नेछ ।






