काठमाडौं २३ सेप्टेम्बर २०२३ ।

चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी जिनपिङ बीच हाङ्चाओमा भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्यूयोर्कबाटै प्रधानमन्त्री चीन पुगेका हुन्। नेपाली समयअनुसार आज बिहान १० बजे हाङजाओ विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले प्रचण्डलाई स्वागत गरेक थिए ।
१९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति सी हाङजाओमा रहेको र प्रधानमन्त्री पनि त्यही जान लागेकाले आजै भेट भएको हो । प्रचण्ड आइतबार मात्रै राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र चिनिया समकक्षी ली छियाङबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने तालिका छ । एक साता चीनमा बिताउने प्रधानमन्त्री असोज १३ गते शनिबार स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।






