धुमधामसँग मनायो तमु समाज युकेले १६ औं वार्षिकोत्सव

SHARE:

लन्डन २ अक्टोबर २०२३ । तमु समाज युकेले १६ औं वार्षिकोत्सव धुमधामसँग मनाएको छ । यही सेप्टेम्बर ३० शनिबार लन्डनको विम्बलीस्थित वार्नहम पार्कमा रहेको आफ्नै समाज घरमा अध्यक्ष शिवकुमार गुरुङको सभापतित्वमा विशेष समारोह आयोजना गरी १६ औं वार्षिकोत्सव मनाइएको हो । औपचारिक कार्यक्रम शुभारम्भ हुनुपूर्व रारा क्याटरिङद्वारा तयार पारिएको स्वादिष्ट खाजा भुजाको आनन्द लिइएको थियो । त्यसपश्चात् बाक्लो उपस्थितिलाई सम्बोधन गरेर महासचिव धरमबल गुरुङले औपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा अध्यक्ष शिवकुमार गुरुङ, उनीको श्रीमती मिनाकुमारी गुरुङ, समाजका सल्लाहकारहरु हाल लन्डनस्थित बार्नेट काउन्सिलको काउन्सिलर कमल गुरुङ प्रमुख अतिथि, आमा समूहको पूर्वअध्यक्ष समेत रहेकी उनको धर्मपत्नी माया गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, उनीको धर्मपत्नी श्रीमती जयन्ती गुरुङ, पूर्वअध्यक्षहरु अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ, उपाध्यक्षहरु श्रीमती बिन्दु घले, भिमबहादुर गुरुङ, आमा समूहको अध्यक्ष उमादेवी गुरुङ, उपाध्यक्ष मथुरा गुरुङ, सल्लाहकार अधिवक्ता राजु थापा, सल्लाहकार काशीराम बोहोरा र अन्य सल्लाहकारहरुलाई आसन ग्रहण गराएपछि अध्यक्ष गुरुङ, प्रमुख अतिथि काउन्सिलर गुरुङ र संस्थापक अध्यक्ष गुरुङलगायतले संयुक्तरुपमा दीप प्रज्वलन गरी कार्यक्रम शुभारम्भ गरेका थिए ।

त्यसपश्चात् नेपाल र संयुक्त अधिराज्य (बेलायत)को राष्ट्रिय धुन घन्काउँदै उपाध्यक्ष बिन्दु घलेले समाजको ऐतिहासिक पृष्ठभूमिदेखि हालसम्म गरेका उपलब्धिहरुलाई समेट्दै स्वागत मन्तव्य राखिन् भने सल्लाहकार ले. थमप्रसाद गुरुङ, आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, निवर्तमान अध्यक्ष गुरुङ र संस्थापक अध्यक्ष गुरुङ आदिले क्रमश: शुभकामना मन्तव्य राखेका थिए ।

समाजले सदस्यहरू जसले अन्य संस्थाहरुमा नेतृत्वकर्ताको गरिमामय पदभार सम्हालिरहेकोमा त्यसको प्रशंसा गर्दै सम्मान गर्‍यो । सम्मानित हुनेहरुमा घान्द्रुक समाज युकेका अध्यक्ष नारायणसिंह गुरुङ, वा.के.ता. समाज लमजुङका अध्यक्ष सुब घले र हालसालै निर्वाचित गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका सदस्य काशीराम बोहोरा थिए । उनीहरुलाई तमु समाज युकेको अध्यक्ष गुरुङ, काउन्सिलर गुरुङ र संस्थापक अध्यक्ष गुरुङले फेटा र खादा लगाएर सम्मान गरेका थिए ।

सम्मानकै क्रममा यस वर्ष तमु धिं युकेद्वारा आयोजित तेह्रौं नेपाली मेलामा तमु समाज यूकेले भाग लिँदा नृत्य र झाँकी विधामा अहोरात्र खटिएर लाग्ने कलाकार नानीहरू र अरू सदस्यहरुलाई अध्यक्ष गुरुङ, प्रमुख अतिथि गुरुङ र संस्थापक अध्यक्ष गुरुङले खादाले सम्मान गरेका थिए । त्यस अवसरमा झाँकीमा प्रदर्शन गरिने आकर्षक घर तयार पार्ने सदस्य अमृत गुरुङ र गुमानसिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।

त्यस्तैगरी, यस वर्ष समाजलाई तन, मन, धन दिएर अहोरात्र खटिएर लाग्ने सदस्यहरुको योगदानको उच्च मूल्यांकन गर्दै पाँच जना सदस्यहरुलाई उत्कृष्ट समाजसेवा सम्मान २०२३ ले सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा सल्लाहकार अधिवक्ता राजु थापा, सूर्यकुमारी गुरुङ, मनकुमारी गुरुङ, लिलकुमारी गुरुङ र कुबिन्द्री गुरुङ थिए । उनीहरूलाई अध्यक्ष गुरुङ, प्रमुख अतिथि गुरुङ र संस्थापक अध्यक्ष गुरुङले प्रमाणपत्र, खादा र पछ्यौरा ओढाएर सम्मान गरे ।

समाजका निवर्तमान अध्यक्ष शिवचन्द्र गुरुङ र श्रीमती मिरा गुरुङको सुपुत्र जसले युकेमा रहेर पनि मुई थाई जस्तो स्पोर्ट्समा उल्लेखनीय उपलब्धि हासिल गरी समाजमात्र नभई सिंगो नेपालीकै शिर उच्च पार्ने काम गरेको भन्दै समाजले खादा र फेटा लगाएर सम्मान गरेको थियो ।

अन्तमा रारा क्याटरिङको स्वादिष्ट भोजन लिँदै अध्यक्ष गुरुङ, प्रमुख अतिथि काउन्सिलर गुरुङ, पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, उपाध्यक्ष भिमबहादुर गुरुङ र विन्दु घले, निवर्तमान अध्यक्ष गुरुङ आदिले संयुक्तरुपमा केक काट्ने र स्याम्पेन फोरेर खुशियाली मनाएका थिए । त्यसपश्चात् महासचिव गुरुङले कार्यक्रम सफल पार्न जो जसले केक, खाद्य र पेय पदार्थहरु प्रायोजन गरेका थिए । उनीहरु सबैको नाम वाचन गरेर सुनाउँदै धन्यबाद दिएका थिए । प्रमुख अतिथि काउन्सिलर गुरुङ र अध्यक्ष गुरुङले धन्यवाद मन्तव्य राखेपछि कार्यक्रम विधिवतरूपमा समापन भएको थियो । कार्यक्रममा समाजकै नृत्यांगनासुमिना गुरुङले मध्यान्तरमा बन्दीपुरैमा…..बोलको गीतमा नाचेर भरपुर मनोरञ्जन दिलाएकी थिइन् । डिजे युवा सदस्य प्रज्वल गुरुङको साउण्ड सिस्टम व्यवस्थापनमा सबैले फ्लोर डान्समा रमेरा भरपूर मनोरञ्जन लिँदै राति ११ बजेतिर कार्यक्रम अन्त भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!