
लन्डन ५ अक्टोबर २०२३ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा उपाध्यक्ष (महिला) मा उम्मेदवारी दिने बेलायतकी महिला अभियन्ता तथा व्यवसायी रोजिना प्रधान राईले निर्णय गरेकी छन् । यसअघि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गरेपनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गर्दै संस्थामा लचकता अपनाउनु पर्छ भन्ने मान्यता अनुरुप आफू महिला उपाध्यक्ष भएर सेवा गर्ने निष्कर्षमा पुगेको उनले जनाएकी छन् ।
‘एनआरएनए संस्थामा आबद्ध हुनु भनेको समाज र देशको हितका लागि नै हो’, बुधबार विज्ञप्ति जारी गर्दै रोजिनाले भनेकी छन्, ‘विशुद्ध समाजसेवाका लागि समर्पित एक महिला भएका नाताले मैले पदका लागि मेरो गोरुको १२ टक्का भन्नुभन्दा पनि अग्रज अभियन्ताहरुको सुझाव सल्लाह शिरोधार्य गरि लचकता अपनाएर महिला उपाध्यक्षमार्फत सेवा गर्ने निष्कर्षमा पुगेको हुँ ।’ सम्पूर्ण डेलिगेट्सले आफ्नो परिवर्तित चाहनामा पनि पूर्ण साथ दिने आशा उनको छ ।
युग सुहाउँदो स्मार्ट एनआरएनए बनाउन प्रयत्न गर्ने, युवा र महिला सशक्तिकरणका प्रभावकारी कार्यक्रम ल्याइ रु ५ लाखको ‘एनआरएनए उत्कृष्ट महिला पुरस्कार’ घोषणा गर्ने, सामूहिक लगानी, पर्यटन र व्यापार प्रवर्धनमा लाग्ने, प्रवासमा नेपाली कला संस्कृति, भाषा र भेषभूषाको प्रर्वधनमा लाग्ने, भूतपूर्व गोर्खा तथा गैर आवासीय नेपालीको वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई सशक्त रुपमा अगाडि लैजाने लगायतमा एजेन्डा उनले सारेकी छन् ।
एनआरएनए अभियानमा लामो समयदेखि क्रियाशील उनले एनआरएनए यूके उपाध्यक्ष हुँदै केन्द्रको विभिन्न टास्कफोर्समा रहेर काम गरिसकेकी छन् ।
विदेशमा रहेका लाखौं गैरआवासीय नेपालीको साझा संस्था एनआरएनको महाधिवेशन तथा विश्व सम्मेलन यही अक्टोबर १७–२० सम्म काठमाडौंमा हुँदैछ ।






