लण्डन ७ अक्टुबर २०२३ ।

बेलायतका लागि नेपालका राजदूत ज्ञानचन्द्र आचार्यले जैविक विविधता संरक्षण तथा नेपालमा जलवायु परिवर्तनका प्रभाव घटाउने बारेमा इडनबरा शाही वनस्पति उद्यानसँग साझेदारी भइरहेको बताएका छन् ।
नेपाल–बेलायत मैत्रीसन्धि भएको शतवार्षिकीका अवसरमा शुक्रबार लण्डनस्थित नेपाली राजदूतावास र परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयद्वारा संयुक्त रुपमा इडनबरामा रहेको शाही वनस्पति उद्यानमा जलवायु परिवर्तन र त्यसका असरमा केन्द्रित रहेर गरिएको कार्यक्रममा आचार्यले सन् १९२३ मा भएको नेपाल–बेलायत मैत्रीसन्धिका विविध पक्षबारे चर्चा गर्दै सो कुरा बताए ।

विशेष गरी उद्यानसँग नेपालका संस्थाहरूले अनुसन्धान, क्षमता अभिवृद्धि, संरक्षण तथा विकासका क्षेत्रमा सहकार्य गरिरहेका बताउँदै राजदूत आचार्यले जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका दुष्प्रभाव घटाउन बेलायतले नेपाललाई निरन्तर सघाएकामा हार्दिक कृतज्ञता ज्ञापन गरे ।

उनले हिमनदी पग्लने तथा जलवायुजन्य विपत्तिको उच्च जोखिममा नेपाल रहेको बताउँदै विभिन्न परियोजनाअन्तर्गत उद्यानले गरेको सहयोगको सराहना गरेका लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । परराष्ट्र, राष्ट्रमण्डल एवं विकास कार्यालयका नायब निर्देशक सार्लोट कोल्सले बेलायत र नेपालबीचको ऐतिहासिक सम्बन्ध पछिल्ला दिनमा भएका छलफल र आदानप्रदानले अझ सघन भएको बताउँदै नेपालको सामाजिक–आर्थिक विकासका निम्ति बेलायतले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमममा जलवायु विज्ञ, नेपालका बेलयती मित्र, स्थानीय कूटनीतिक समुदाय, बेलायतमा बसोबास गर्दै आएका नेपाली तथा प्राज्ञिक प्रतिष्ठानका प्रतिनिधिको सहभागिता थियो ।







