काठमाडौं १३ अक्टुबर २०२३ ।

लोक तथा दोहोरी गायिका देवकी केसीले गैरआवासीय नेपाली संघ (एनआरएनएनए) को महिला संयोजक पदमा उम्मेदवारी दिएकी छिन् ।
विश्वभरि छरिएर रहेका महिलाहरूलाई एक सुत्रमा बाँध्दै एनआरएनएको अभियानमा जोडेर हरेक महिलालाई आइपर्ने सबै किसिमका समस्यामा आवश्यक सहयोगका लागि पिल्लर बनेर उभिने प्रतिबद्धतासहित उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को (२०२३–०२५) का लागि महिला संयोजक पदमा उम्मेदवारी दिएको बताएकी छिन् ।
दुई दशकभन्दा बढी समय नेपाली लोक तथा दोहोरी गीत क्षेत्रमा बिताउनुभएकी सर्जक तथा गायिका केसी सांगीतिक क्षेत्रमा चिर परिचित नाम हो । क्यानडालाई स्थायी बसोबास बनाउँदै आएकी केसीले मौलिक लोक संस्कृति र संस्कारको प्रवर्द्धन र सम्वर्द्धन समेत गर्दै आएकी छिन् ।
सयौँ गीतमा आवाज दिएकी केसीले आफू नेपालदेखि विश्वका धेरैजसो देशमा सांगीतिक प्रस्तुतिका लागि पुग्दा नेपाली महिलाहरूका पीडा तथा अप्ठ्यारा नजिकबाट प्रत्यक्ष देखेको बताइन् । प्रवासको बसाइका क्रममा कतारमा रहँदा एनसीसी कतारको महिला उपाध्यक्ष हुँदै एनआरएनए आइसीसी सदस्य पदमा समेत रहेर काम गरेको अनुभवका आधारमा महिला संयोजक पदमा उम्मेदवारी दिएको उनको भनाइ छ ।
‘नारी सशक्तीकरण हाम्रो अभियान, कला भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने मूल नारा लिएर उम्मेदवारी घोषणा गरेकी केसीले आफ्ना पवित्र सपनाहरूलाई साकार बनाउन सबैको साथ, सहयोगको अपेक्षासहित अमूल्य सुझावको अपेक्षा पनि गरेको बताइन् ।
संस्कृतबाट शास्त्र पास गरेकी केसीले विदेशमा जन्मिएका नयाँ पुस्तामाझ नेपाली कला र भाषाको महत्व बुझाउँदै लैजानु आफ्नो प्रमुख दायित्व रहने बताइन् । महाधिवेशनमा विश्वका ८० बढी देशबाट झण्डै ४२ सय एनआरएन प्रतिनिधिले ‘अनलाइन’ भोट हाल्दै छन् ।
सांस्कृतिक कार्यक्रमको सन्दर्भमा ५० भन्दा बढी देशमा पुगेर नेपालीको समुदायलाई भेटेका कारण पनि अहिले आफ्नो उम्मेदवारीप्रति धेरैको सदभाव र सहयोग पाएको केसीले बताइन् ।






