लन्डन १४ अक्टुबर २०२३ ।

बेलायत भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र) का महासचिव पूर्वकानुनमन्त्री देव गुरुङले ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूका नेपाली नागरिकता निरन्तरताको मुद्दा चाँडो समाधानका लागि आफूले पहल गर्ने बताएका छन् ।
महासचिव गुरुङ दम्पतीलाई स्वागत तथा सम्मानका लागि शुक्रबार १३ अक्टोबर २०२३ दिन रेडिङस्थित द फर्गटन गोर्खाज् क्लबमा गोर्खा सत्याग्रह संयुक्त संघर्ष समिति तथा ब्रिटिस गोर्खा वंशजको नेपाली नागरिकता निरन्तरता अभियान समिति (बीजीएनसीसीसी) यूकेले आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले उक्त धारणा राखेका हुन् ।
सत्तारुढ माओवादीका महासचिव गुरुङले ब्रिटिस गोर्खा र तिनका सन्ततिहरूका मुद्दा यथाशीघ्र समाधानका लागि सरकारले सकारात्मक पहलकदमी बढाउने र मुद्दालाई टुंगोमा पुर्याउन लागि गृहकार्य गर्ने प्रतिबद्धता पनि जनाए । माओवादी केन्द्रको प्रवास संगठन नेपाली जनप्रगतिशील मञ्च युकेका अध्यक्ष मानबहादुर गुरुङ, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष तथा माओवादी केन्द्रीय सदस्य कृष्णकुमार राई र गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईबाटले आउँदै जीटुजी वार्ता सफल बनाउन सबैको दायित्व रहने बताएका थिए ।
कार्यक्रम बीजीएनसीसीसी यूकेका उपसंयोजक तथा कार्यवाहक संयोजक साथै संघर्ष समिति केन्द्रीय समिति सदस्य लेफ्टिनेन्ट रिटायर्ड हरिबहादुर गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा क्याम्पेन डाइरेक्टर ज्ञानराज राईले अभियानबारे र स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा बीजीएनसीसीसी सचिव होम किरात सुनुवारले ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति युके/नेपाल संस्थाको परिचय र अभियानबारे जानकारी गराए ।
कार्यक्रममा संविधानसभा सदस्य तथा माओवादी केन्द्रकी स्थायी समिति सदस्य यशोदा सुवेदी, प्रदेश नम्बर १ का माओवादी केन्द्रका प्रदेश समिति सदस्य युवा नेता अशोक राई, बैरिस्टर देवेन्द्र श्रेष्ठलगायत उपस्थित थिए । अन्तमा सभाध्यक्ष तथा बीजीएनसीसीसीका उपसंयोजक तथा कार्यवाहक संयोजक लेफ्टिनेन्ट रिटायर्ड हरिबहादुर गुरुङले सहभागी प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र अन्य सहभागीलाई धन्यवाद सहित कार्यक्रम समापन गरेका थिए ।






