एटा संवाददाता
अल्डरसट । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले तला थप सहयोगार्थ च्यारिटी डिनर नाईटको आयोजना गरेको छ ।
गत शनिबार ११ अगस्टका दिन अल्डरसटस्थित एम्पायर हलमा आयोजना च्यारिटी कार्यक्रम स्थानीय रसमुर बरो काउन्सिलका मेयर स्टीभ मास्टरसन र बिसीसी युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बिईएमले दीपप्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बेलायतमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रह्यो ।
कार्यक्रममा प्रमुख अतिथि एवं स्थानीय मेयर मास्टरसनले बिसीसी युकेले गर्दै आएको रचनात्मक कार्यका लागि धन्यवाद दिए । त्यस्तै, अध्यक्ष ले.रि. गुरुङले संस्थाले हालसम्म गर्दै आएका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउँदै उपस्थित सबैको साथ र सहयोगका लागि विशेष धन्यवाद प्रकट गरेका थिए । र, उपाध्यक्ष हर्क गुरुङले गुम्बा तला थप परियोजनाबारे प्रस्तुति दिएका थिए ।
अत्यन्त शान्त र रमणीय वातावरणमा सम्पन्न कार्यक्रममा बिसीसी युकेलाई सहयोग गरेका विभिन्न दाता र नयाँ आजीवन सदस्यहरुलाई प्रमाण पत्रसहित स्वागत तथा सम्मान गरिएको थियो ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको कार्यक्रममा गायक बिमलराज क्षेत्री र रुबी गौलीले गीत र अभियान गुरुङ तथा विद्या गुरुङले नृत्य प्रस्तुत् गरेका थिए । सांस्कृतिक कार्यक्रमलाई पुष्पा गुरुङले सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा मेजर (रि) डमर घले एमबिईले विभिन्न दाताहरुले प्रदान गरेको बौद्ध धर्मसँग सम्बन्धित सामानहरुको लिलाम बढाबढ गरेका थिए । सो लिलाम बढाबढ कार्यक्रमलाई अत्यन्त राम्रोसँग सञ्चालन गरिएको थियो । सो लिलामबाट सोचेभन्दा बढी अर्थ संकलन गरियो ।
कार्यक्रमको अन्त्यमा बिसीसी युकेका उपाध्यक्ष नरेश गुरुङले प्रमुख अतिथि, विशेष अतिथि, अतिथि र सहभागी सबैलाई धन्यवाद दिएका थिएका थिए ।
बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङ बिईएमको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष एवं कार्यक्रम संयोजक ले.रि. कुसाङ्ग गुरुङले स्वागत मन्तव्य प्रकट गरेका थिए भने महासचिव गोविन्द गुरुङले औपचारिक कार्यक्रमको सञ्चालन गरेका थिए ।






