लन्डन । बेलायतको अल्डरसटमा आगामी ७ नोभेम्बर २०२६ शनिबार स्मृति दिवस (रेमेम्बरेन्स डे) समारोह आयोजना हुने भएको छ।
ग्रेटर रसमोर नेपाली कम्युनिटी (जीआरएनसी) र गोर्खा मेमोरियल प्रोजेक्ट एसोसिएसन (जीएमपी)को आयोजनामा हुने समारोह बिहान १०:२० बजे अल्डरसटस्थित प्रिन्सेस गार्डेन्समा रहेको भिक्टोरिया क्रस (भीसी) विजेता कुलवीर थापाको स्मारक वरिपरि हुनेछ।
समारोहमा युद्ध तथा विभिन्न द्वन्द्वमा बेलायतको सेवामा रहँदा ज्यान गुमाएका सम्पूर्ण व्यक्तिहरूको सम्झना गर्दै उनीहरूको बलिदानप्रति सम्मान व्यक्त गरिने आयोजकले जनाएका छन्। बेलायतको राष्ट्रिय रेमेम्बरेन्स सन्डेभन्दा अगाडि कार्यक्रम आयोजना गर्न लागिएको हो । यसले सहभागीहरूलाई आफ्ना स्थानीय क्षेत्रमा हुने स्मृति दिवसका कार्यक्रममा वा लन्डनस्थित सेनोटाफमा आयोजना हुने समारोहमा समेत सहभागी हुन सहज बनाउने आयोजकको भनाइ छ।
समारोहमा सहभागी हुने संघसंस्था, समूह तथा व्यक्तिहरूका लागि पोपी फूलसहितका स्मृति पुष्पचक्र (व्रेथ) अर्डर गर्ने व्यवस्था पनि गरिएको छ। पुष्पचक्र अर्डर गर्ने अन्तिम मिति १७ अक्टोबर २०२६ तोकिएको छ ।
कार्यक्रमसम्बन्धी थप जानकारीका लागि कार्यक्रम संयोजक तथा जीएमपी/जीआरएनसी ट्रस्टी रामधन राई, जीआरएनसी उपाध्यक्ष तथा काउन्सिलर उत्तर गुरुङ,
जीआरएनसी महासचिव लेफ्टिनेन्ट (अवकाशप्राप्त) सुनील राना तथा जीएमपी/जीआरएनसी ट्रस्टी एवं जनसम्पर्क प्रतिनिधि ओमप्रसाद थापा काउछालाई सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन्।
रिमेम्बरेन्स डे बेलायतमा हरेक वर्ष ११ नोभेम्बरमा मनाइने स्मृति दिवस हो। प्रथम विश्वयुद्ध अन्त्य भएको सम्झनामा मनाइने यस दिवसमा युद्धमा ज्यान गुमाएका सैनिक तथा सेवाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरिन्छ। रातो पोपी फूल यस दिवसको प्रमुख प्रतीक हो भने दुई मिनेट मौनधारण, पुष्पचक्र अर्पण र स्मृति समारोह यसका प्रमुख गतिविधि हुन्
यो दिवस हरेक वर्ष नोभेम्बर ११ मा मनाइन्छ । सन् १९१८ नोभेम्बर ११ को ११ बजे प्रथम विश्वयुद्ध अन्त्य गर्ने युद्धविराम लागू भएको सम्झनामा यो मिति महत्त्वपूर्ण छ। रिमेम्बरेन्स सन्डेका अवसरमा दुई मिनेट मौनधारण गरेर दिवंगतहरूको सम्झना गरिन्छ।
रातो पोपी स्मरण दिवसको प्रमुख प्रतीक हो। यसले युद्धमा ज्यान गुमाएकाहरूको बलिदानको सम्झना र शान्तिपूर्ण भविष्यको आशा जनाउँछ। सन् १९२१ देखि बेलायतमा पोपी अभियान सञ्चालन हुँदै आएको छ। नोभेम्बर ११ मा मात्र नभई नोभेम्बरको दोस्रो आइतबार पनि बेलायतभरि स्मृति समारोह आयोजना गरिन्छ। सन् २०२६ मा रिमेम्बरेन्स सन्डे नोभेम्बर ८ मा परेको छ। समारोहमा युद्ध स्मारकमा पुष्पचक्र अर्पण, मौनधारण र श्रद्धाञ्जलीका कार्यक्रम आयोजना गरिन्छन्।
बेलायतको अल्डरसटमा ७ नोभेम्बर २०२६ मा आयोजना हुने नेपाली समुदायको स्मृति समारोह पनि राष्ट्रिय रिमेम्बरेन्स सन्डेअघि राखिएको छ। प्रिन्सेस गार्डेन्सस्थित भिक्टोरिया क्रस विजेता कुलवीर थापाको स्मारकमा हुने कार्यक्रममा युद्धमा ज्यान गुमाएका व्यक्तिहरूको सम्झना र सम्मान गरिनेछ।
कुलवीर थापा प्रथम विश्वयुद्धमा वीरताका लागि भिक्टोरिया क्रस प्राप्त गर्ने नेपाली सैनिक थिए। उनको स्मारकमा आयोजना हुने कार्यक्रमले बेलायतको सैनिक इतिहासमा नेपालीको योगदान र बलिदानलाई समेत स्मरण गर्ने अवसर प्रदान गर्छ।





