लन्डन । किरात याक्थुङ चुम्लुङ बेजिङस्टोक शाखाको आयोजनामा यस वर्षको बलिहाङ तङ्नाम भव्य रूपमा सम्पन्न भएको छ।
बेलायतमा रहेका याक्थुङ (लिम्बू) समुदायका सदस्यहरूका साथै गैरलिम्बू समुदायका व्यक्तिहरूको समेत उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सांस्कृतिक प्रस्तुति, परम्परागत खेल र नाचगान गरिएको थियो। शाखा अध्यक्ष शान्ति लिम्बू र शाखाका सल्लाहकार तथा पूर्वअध्यक्ष विजय लिङ्थेपले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

शान्ति लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शाखाका सचिव धन माबो लिम्बूले सुरक्षा सम्बन्धी जानकारी दिएका थिए।
यस वर्ष औपचारिक कार्यक्रम नराखिएकाले सहभागीहरूले मनोरञ्जनलाई प्राथमिकता दिएका थिए। साँझ करिब ६ बजे स्थानीय याक्थुङ कलाकारहरूले परम्परागत लारिङ्गेत–नामलिङ्गेत खेल प्रस्तुत गर्दै दक्षिणा राखिएको थालीमा शुभआशीर्वाद दिएका थिए। उक्त प्रस्तुतिले कार्यक्रममा थप रौनक ल्याएको थियो।
कार्यक्रममा स्थानीय याक्थुङ समुदायका सदस्यहरूले हुवा तथा विभिन्न परिकारका भोजन र पेय पदार्थको व्यवस्था गरेका थिए। कार्यक्रमलाई व्यवस्थित बनाउन कोषाध्यक्ष शुक्र लिम्बू, महेश लिम्बू, युगल लिम्बू र उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बोले सक्रिय भूमिका निर्वाह गरेका थिए। साउन्ड सिस्टमको जिम्मेवारी दिलीप लिम्बूले सम्हालेका थिए।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ यूकेका पूर्वअध्यक्ष तिलविक्रम सम्बाहाम्फे, सुभास जबेगु, बीएनसीका उपाध्यक्ष बल थापा र उत्तर सुन्दासलगायतको उपस्थिति थियो।
तिहारका अवसरमा खेलिने विभिन्न खेलमा सहभागीहरूले भरपूर मनोरञ्जन लिएका थिए। त्यसपछि डिजेको तालमा सहभागीहरू नाचगानमा झुमेका थिए। हाँसो, खुसी र उल्लासमय वातावरणमा सम्पन्न कार्यक्रमले विभिन्न समुदायबीच आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देश दिएको आयोजकले जनाएको छ।
दिउँसो १ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको कार्यक्रमले बेलायतमा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचान संरक्षण गर्दै निरन्तरता दिन याक्थुङ समुदाय एकजुट रहेको सन्देश दिएको पूर्वअध्यक्ष विजय लिङ्थेपले बताए ।






