बेलायतको बेलफास्टमा २६ अक्टोबरमा लोकप्रिय गायक विष्णु खत्रीको सांगीतिक साँझ हुने

SHARE:

लन्डन । नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक तथा सर्जक विष्णु खत्रीको प्रस्तुतिमा बेलायतको उत्तरी आयरल्यान्डस्थित बेलफास्टमा भव्य सांगीतिक साँझ आयोजना हुने भएको छ।

नेपाली कम्युनिटी नर्दन आयरल्यान्डको आयोजनामा सोमबार, अक्टोबर २६ मा सांगीतिक कार्यक्रम हुन लागेको हो। कार्यक्रममा गायक खत्रीसँगै गायिका कुमारी चेपाङले पनि प्रस्तुति दिने आयोजकले जनाएको छ।

साँझ ५ बजेदेखि इन्डिया गेट बेलफास्टमा सुरु हुने कार्यक्रममा सहभागी भएर संगीतको आनन्द लिन तथा मनोरञ्जन लिन आयोजकले नेपाली समुदायलाई आग्रह गरेको छ।

कार्यक्रममार्फत नेपाली गीतसंगीतको प्रवर्द्धनसँगै बेलफास्टमा रहेका नेपालीहरूबीच भेटघाट र आपसी सद्भाव अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। गायक खत्रीले पनि शनिबार फेसबुकमार्फत भनेका छन् – ‘पर्सि नर्दन आयरल्यान्डको बेलफासमा भेटम् है’

सर्जक तथा संगीतकारका रुपमा समेत चिनिएका खत्री बागलुङ जिल्लाको गलकोटमा जन्मिएका हुन् । खत्री विशेषगरी पश्चिम नेपालका भाका, पञ्चेबाजा, ग्रामीण जीवन, किसान तथा श्रमिक वर्गका कथा, प्रेम, वियोग र सामाजिक यथार्थलाई गीतमार्फत प्रस्तुत गर्ने कलाकारका रूपमा स्थापित छन् । उनले गाउँघरका वास्तविक भोगाइ, नेपाली समाजका संस्कृति र जीवनशैलीलाई गीतमा उतार्दै लोकसंगीतलाई थप समृद्ध बनाएका छन् ।

उनको आवाजमा रहेको सरलता, गहिराइ र मौलिकपनका कारण उनका गीत केवल मनोरञ्जनमा सीमित नभई नेपाली समाजको ऐना बनेका छन् । गाउँदेखि सहरसम्म तथा विदेशमा रहेका नेपाली समुदायमाझ उहाँका गीत उत्तिकै लोकप्रिय छन् ।

खत्रीले स्वर दिका तथा सिर्जना गरेका ‘भरिया दाइले बिसाउने भारी सुनमाया डाँडैको चौतारी’, ‘किसानी दाइको हलो र जुवा’, ‘बेंसी खोला खेत’, ‘कि लास चाहियो कि सास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘जाउँला ढोरपाटन’, ‘मलाई हतार भइसक्यो’, ‘अस्पताल’, ‘बर्खामास’, ‘बर्खा’, ‘झरनाको पानी’, ‘लुम्बिनी’, ‘चौतारीमा पिपल छ बर छैन’, ‘दशैँ-तिहार आउँदा’लगायतका गीत श्रोतामाझ लोकप्रिय छन् ।

विशेषगरी ‘भरिया दाइले बिसाउने भारी’ नेपाली लोकसंगीतको इतिहासमै सामाजिक यथार्थ झल्काउने कालजयी सिर्जनामध्ये एक मानिन्छ । श्रमिक वर्गको दुःख, संघर्ष र जीवन भोगाइलाई समेटिएको उक्त गीतले लाखौं श्रोताको मन जित्न सफल भएको छ ।

खत्री नेपालका विभिन्न सांगीतिक कार्यक्रमका साथै बेलायत अमेरिका, युरोप, अष्ट्रेलिया, खाडी मुलुक, दक्षिण कोरिया, जापानलगायत देशमा रहेका नेपाली समुदायबीच पनि लोकप्रिय कलाकारका रूपमा परिचित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!