दक्षिण कोरिया । दसैँको अवसरमा रातो टीका र जमरा लगाएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भएपछि नेपाली कृति तामाङले त्यसको जवाफ दिएकी छन्।
तामाङ समुदाय तथा बौद्ध धर्मावलम्बी भएर पनि हिन्दू परम्पराअनुसार रातो टीका लगाएको भन्दै केहीले आलोचना गरेपछि उनले भिडियो सन्देशमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।
कृतिले आफू तामाङ र बौद्धमार्गी नै भएको स्पष्ट पार्दै घरपरिवारमा सेतो टीका लगाउने गरेको बताएकी छन्। तर, परदेशमा विभिन्न जातजाति र समुदायका मानिस मिलेर बस्नुपर्ने भएकाले आफन्त तथा दिदीबहिनीले सद्भावस्वरूप लगाइदिएको रातो टीका ग्रहण गर्नु स्वाभाविक भएको उनको भनाइ छ।
‘म तामाङ नै हो, बुद्धिस्ट नै हो। म आफ्नो संस्कृति भुल्दिनँ, घरपरिवारमा सेतै टीका लगाउँछु। तर बाहिर हिँड्दाखेरि सद्भावस्वरूप रातो टीका पनि थाप्छु। रातो टीका लगाउँदैमा मेरो निधारमा प्वाल पर्ने होइन,’ उनले भिडियोमा भनेकी छन्।
परदेशको जीवनमा सामाजिक सद्भाव, एकता र आपसी सम्मान महत्त्वपूर्ण हुने उल्लेख गर्दै कृतिले अरूको संस्कृति र भावनाको पनि सम्मान गर्नुपर्ने बताएकी छन्। उनले मानिसलाई सङ्कट पर्दा जात, धर्म वा रङभन्दा मानवीयता महत्त्वपूर्ण हुने तर्क गरेकी छन्।
‘भोलि बिरामी परेर अस्पताल लैजानुपर्दा रातो टीका लगाउनेले हुँदैन, सेतो लाउनेले मात्रै हुन्छ अथवा फलानो जात र वर्णकोले मात्रै छुनुपर्छ भनेर बस्न सकिन्छ र? त्यो बेला जसले समयमै अस्पताल पुर्याउँछ, त्यही भगवान्सरह हुन्छ। अनि अहिले एउटा रङलाई लिएर किन यत्रो आपत्ति?’ उनले प्रश्न गरेकी छन्।
संस्कृति संरक्षणको महत्त्व स्वीकार गर्दै उनले अरूको संस्कृतिलाई पनि सम्मान गर्नुपर्नेमा जोड दिएकी छन्। टीका लगाउने वा नलगाउने विषय व्यक्तिगत इच्छामा निर्भर रहने उनको भनाइ छ।
‘संस्कृति जोगाउनुपर्छ भन्ने मलाई पनि थाहा छ। तर अरूको संस्कृतिलाई पनि सम्मान गर्नुपर्छ। कसैलाई मन पर्दैन भने नलगाए हुन्छ, मलाई मन पर्छ म लगाउँछु,’ उनले भनेकी छन्।






