
चितवन, कात्तिक १–
१७ अक्टुबर २०२३
पाँच महिनाअघि बेलायतको रसमोर बरो वेलिङटनका काउन्सिलरमा निर्वाचित धनबहादुर सार्कीलाई चितवनको भरतपुर महानगरपालिका वडा नं.२१ ले सम्मान गरेको छ ।
वडा कार्यालय पार्वतीपुरमा आयोजित एक कार्यक्रममा वडा अध्यक्ष कृष्ण बहादुर गुरुङले काउन्सिलर सार्कीलाई सम्मान गरेका हुन् । वडाको विकासमा सार्कीले गरेको सहयोग र बेलायत जस्तो देशको रसमोर बरो वेलिङटनका काउन्सिलर समेत निर्वाचित भएकाले सार्कीलाई सम्मान गरिएको वडा अध्यक्ष गुरुङले बताए । उनले आफ्नै वडामा जन्मिएका व्यक्ति बेलायतमा काउन्सिलर बन्नु वडाबासीका लागि गर्वको कुरा भएको बताए ।
यस्तै सोही क्रममा बोल्दै काउन्सिलर सार्कीले वडाले दिएको सम्मानले आफूलाई थप खुशी र जिम्मेवार बनाएको बताए । उनले विगतमा पनि वडामा आवश्यक सहयोग र सहकार्य गर्दै आइरहेको भन्दै आगामि दिनमा सहयोग जारी राख्ने प्रतिवद्धता जाहेर गरे । उनले बेलायतमा वडाको कामहरु सिस्टमेटिक र धेरै फरक हुने गरेको बताए । उनले आफू निर्वाचित क्षेत्र धेरै नेपालीहरु बसोबास गरेको क्षेत्र रहेको भन्दै आगामि दिनमा मेयर भएर काम गर्ने चाहना रहेको बताए । उनले नेपाल र बेलायतलाई जोड्ने काममा आफू सक्रिय रहने बताए ।

उनी १७ वर्षकै उमेरमा ब्रिटिस गोर्खा सेनामा बेलायत पुगेका थिए । त्यहाँ पेन्सन भएपछि उच्च शिक्षाका लागि पुनः बेलायतमा बसोबास गर्न पुगेका थिए । त्यहाँ विभिन्न व्यवसायमा संलग्न सार्की पछि लेवर पार्टीमा आवद्ध भई काउन्सिलर बन्न सफल भएका हुन् । उनी हाल पनि नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष समेत हुन् ।
सार्कीले नेपाली वेलफेयर सोसाइटीको तर्फ भरतपुर २१ वडा कार्यालयलाई विपन्न घरपरिवारमा धारा जडानका लागि ४ लाख रुपैयाँ सहयोग समेत गरेका छन् । उनले उक्त रकमको चेक वडा अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । सार्कीले यसअघि पनि सन् २०२१ मा धारा जडानका लागि आर्थिक सहयोग गरेका थिए । उनी स्वच्छ खानेपानी पु¥याउने अभियान चलाउँदै आइरहेका छन् ।
विश्वरभर फैलिएको कोभिड–१९ माहामारीमा पनि सार्कीले नेपालका सातै प्रदेशमा राहत वितरण गरेका थिए । समाजसेवामा सक्रिय सार्की हाल राजनीतिमा सक्रिय छन् ।







