काठमाडौं २९ अक्टुबर २०२३ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस चारदिने भ्रमणका लागि नेपाल आएका छन् ।
नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निमन्त्रणमा आएका उनलाई शनिबार राति परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।
भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री दाहालसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा महासचिव गुटरेसले बेग्लाबेग्लै शिष्टाचार भेट गरेका छन् । उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग महासचिव उनले भेटवार्ता गरेका छन् ।
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन पनि गरेका छन् ।






