काठमाडौं ३० अक्टुबर २०२३ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमालमा जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
महासचिव गुटेरेसले आज बिहान खुम्बु पासाङल्हामु गाउँपालिका–४ का स्थानीय समुदायसँग जलवायु परिवर्तन र यसले स्थानीयको जनजीवनमा पारेको विषयका सम्बन्धमा अन्तक्र्रिया गरेका थिए । सो अवसरमा महासचिव गुटेरेसले जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा स्थानीयका सुझावसहित जलवायुले हिमालमा परेको असरबारे ध्यानाकर्षण गराउने उल्लेख गरेका थिए ।
महासचिव गुटेरेसले विश्वको प्रदूषण वृद्धिमा धनी देशको भूमिका रहेको तर खुम्बु पासाङल्हामु गाउँपालिकाजस्ता दुर्गम स्थानमा नकारात्मक असर पर्नु दुःखद् भएको बताएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । महासचिव गुटेरेसले जलवायु परिवर्तनबाट उत्पान्न हुने समस्या कम गर्नका लागि के गर्न सकिन्छ भनेर पहल गर्ने र उक्त सन्देश विश्वभरि लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
भेटमा स्थानीय समुदायले हिमनदी पग्लिनेक्रम बढेको, जलवायुजन्य हानि नोक्सानी बढेको, पानीका स्रोत सुक्दै गएको, स्थानीय बालीनालीमा जलवायुको असर परेको, नाङ्गा हिमालमा पानी पर्दा पहिरो जाने समस्या बढेको जस्ता विषय महासचिव गुटेरेसलाई अवगत गराएका अध्यक्ष अधिकारीले जानकारी दिए । साथै स्थानीयले गाउँमा ऊर्जाको अभाव रहेको र लघु जलविद्युत् आयोजना निर्माणमा सहयोगका लागिसमेत आग्रह गरेका थिए ।
महासचिव गुटेरेस नेतृत्वको प्रतिनिधिमण्डलमा संयुक्त राष्ट्रसङ्घका शान्ति कार्यका लागि उपमहासचिव जीन पियरे ल्याक्रोइक्स, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक हाना सिंगर–हाम्दी र संयुक्त राष्ट्र सङ्घका अन्य अधिकारीहरू सहभागी छन् । महासचिव गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आइतबार बिहान यहाँ आपुगेका हुन् । उनले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गर्नुरेका थिए ।
साथै नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री नारायण प्रकाश साउदसँग महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता भएको थियो ।
भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए ।
भ्रमणका क्रममा उनी सगरमाथा क्षेत्र र पोखराका साथै अन्नपूर्ण आधार शिविर र लुम्बिनी जानेछन् । यही कात्तिक १४ गते मङ्गलबार अपराह्न उनले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरनेछन् । प्रधानमन्त्री दाहालको निमन्त्रणामा उनी नेपालको औपचारिक भ्रमणमा आएका हुन् ।






