काठमाडौँ ३१ अक्टुबर २०२३ ।

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले संसद्को संयुक्त सदनलाई आज गरेको सम्बोधनले विश्व समुदायमाझ नेपालको गौरव बढाउने बहुआयामिक सन्देश दिएको प्रतिक्रिया पूर्वसभामुखले दिएका छन् ।
महासचिव गुटेरेसको सम्बोधनपछि पत्रकारसँग कुराकानी गर्दै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले नेपालको शान्ति प्रक्रिया टुङ्ग्याउन, विश्वशान्ति कायम गर्न र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि खेलेको भूमिका र सहयोगको महासचिवबाट भएको सरहानाले बहुआयामिक सन्देश प्रवाह गरेको बताए ।
सगरमाथा र अन्नपूर्ण हिमालको आधार शिविरमा पुगेर जलवायु परिवर्तनबाट परेको असरबारे स्थानीयसँग जानकारी लिने र अवलोकन गर्ने कार्य हाम्रा लागि निकै महत्वपूर्ण विषय भएको पूर्वसभामुख सापकोटाले टिप्पणी गरे । अर्का पूर्वसभामुख दमननाथ ढुङ्गानाले शान्ति प्रक्रिया आफँै पूरा गर्न नेपाललाई सुझाव दिँदै आवश्यक परेको खण्डमा सहयोग गर्छौं भनी देखाएको उदारता र दृष्टिकोण सराहनीय रहेको प्रतिक्रिया दिए ।
शान्ति सेनामा नेपालको भूमिकाको महासचिवबाट राम्रो मूल्याङ्कन भएको उल्लेख गर्दै पूर्वसभामुख ढुङ्गानाले मन्तव्यका क्रममा महासचिवले दिवङ्गत सैनिकप्रति श्रद्धाञ्जलि सम्मानका लागि गरेको आग्रह त्यसको उदाहरण भएको प्रतिक्रिया दिए । संसद् सचिवालयका पूर्वमहासचिव मनोहरप्रसाद भट्टराईले महासचिवको भ्रमणको कार्यक्रम नेपाल र नेपालीका लागि निकै महत्वपूर्ण रहेको बताए ।
पूर्वमहासचिव भट्टराईले विश्व शान्तिमा पु¥याएको योगदान र जलवायु परिवर्तनको क्षतिका लागि नेपालले खेलेको भूमिकालाई सहयोग गर्नुपर्छ भनी राख्नुभएको भनाइ आफँैमा उच्च कोटीको रहेको टिप्पणी गरे । यसअघि पनि राष्ट्रसङ्घका महासचिव वान कि मुनले संविधानसभालाई गरेको सम्बोधनले शान्ति प्रक्रियालाई अघि बढाउन र संविधान बनाउन प्रेरणा र उत्साह मात्र नभई समन्वय र सक्रियाताका लागि निकै ठूलो बल प्रदान गरेको घटना पूर्वमहासचिव भट्टराईले स्मरण गराए ।






