
लन्डन २० नोभेम्बर २०२३ । पाँचथर समाज सेवा यूकेको आठौं कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ ।
शनिबार १८ नोभेम्बरका दिन अध्यक्ष शान्ति लिम्बूको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । महासचिव लाहाङ चेम्जोङले संस्थाका सल्लाहकारहरुलाई आसनग्रहण गराउँदै वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले हेल्थ एन्ड सेफ्टी बैठकको अवधिभरि आपतकालीन आइपरेमा अपनाउनुपर्ने कार्यविधिको जानकारी गराउँदै बैठक सुरु भएको थियो ।
बैठकमा संस्थाका सदस्यहरु उमेर ७० वर्ष नाघेकाहरुले ५० प्रतिशत छुटमा आजीवन सदस्य बन्न पाउने प्रस्ताव पारित भएको छ । संस्थाका भावी कार्यक्रमहरु पाँचथर कप, वार्षिक भेटघाट महोत्स्व, साधारणसभाका मितिहरु तोकिएका अध्यक्ष शान्ति लिम्बूले जानकारी दिइन् ।

गत अधिवेशनमा अनुपस्थित नवनिर्वाचित सहकोषाध्यक्ष सामसोगेन नेम्वाङ, सचिव नरेन्द्र तुम्वापो धनकुमार नेम्वाङ, सदस्य गायक तारा लक्समलई अध्यक्ष लिम्बूले प्रमाणपत्र प्रदान गर्दै खादा ओढाएर कार्यसमितिमा स्वागत गरेका थिए ।
बैठकले राष्ट्रिय गायक तारा लक्समलाई सांस्कृतिक विभाग प्रमुख र सदस्य दीपा लिम्बुलाई उपप्रमुखमा चयन गरेको छ । त्यसैगरी संस्थाको सामाजिक सञ्जाल इन्स्ट्राग्राम सञ्चालनको लागि सदस्य रश्मी लिम्बूलाई जिम्मा दिइएको छ ।
अध्यक्ष शान्ति लिम्बूले कार्यकालभित्र च्यारिटी कार्यक्रम आयोजना गरी संकलित रकमले पाँचथरको विकट ठाउँहरुमा शिक्षा क्षेत्रमा सहयोग गर्ने, जेहेन्दार विद्यार्थीहरुलाई पुरस्कार दिने जानकारी दिइन् ।
अध्यक्ष लिम्बूले उपस्थित सदस्यहरुलाई धन्यवाद दिँदै बैठकको बिट मारेकी थिइन् ।
महासचिव लाहाङ चेम्जोङले सञ्चालन गरेको बैठकमा वरिष्ठ सल्लाहकार दिल सम्बाहाङ्फे र पूर्वअध्यक्ष सल्लाहकार चन्द्र सुन्दासको उपस्थिति थियो ।








