लण्डन २४ नोभेम्बर २०२३ ।

पूर्वधावक तथा गीतकार बुद्धवीर लामालाई बेलायतमा नगदसहित सम्मान गरिएको छ ।
नेपाली खेलकुद र सांगीतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई अल्डरसटमा इलाम समाज बेलायतले सम्मान गरेको हो । समाजका अध्यक्ष टेकवीर राईले लामालाई ४ हजार ४ सय ७ पाउन्ड (७ लाख ३५ हजार ३ सय ५२ रुपैयाँ) सहित प्रशंसापत्र प्रदान गरेका थिए ।
धावक लामा गायक पनि हुन् । अल्डरसटमा लामाकै नाममा भएको बुद्धवीर लामा गीतिमय साँझबाट संकलित रकममध्ये बचेको रकम सम्मानस्वरुप प्रदान गरिएको हो । लामाले सम्मानवापत प्राप्त रकम नेपालका दुर्गम क्षेत्रका खेलाडीलाई सहयोग गर्ने र केही रकम अनाथलय, वृद्धाश्रम र अपाङ केन्द्रलाई सहयोग गर्ने बताए । यसअघि उनले जुम्लाका धावकलाई टीसर्ट र खेल सामग्री सहयोग गरेका थिए ।
लामाले ताइवान र जापानमा सम्पन्न एसियाली भेट्रान्स एथलेटिक्स च्याम्पियनसिपको ५ हजार मिटर दौडमा क्रमशः छैटौं र दसौं स्थान हासिल गरेका थिए । बेलायतमा लामाको यो पहिलो गीतिमय साँझ हो । १० औँ संस्करण अमेरिकामा भएको थियो भने बाँकी नेपालमै भएको थियो ।






