काठमाडौं १६ डिसेम्बर २०२३ ।

बागमति प्रदेशको नाम नेवाः ताम्सालिङ प्रदेशको हुनुपर्ने माग राख्दै तामाङ र नेवार समुदायले आज काठमाडौंमा प्रदर्शन गरेका छन् ।
ताम्सालिङ संयुक्त संघर्ष समिती, नेपाल तामाङ घेदुङ र नेवा दय दवु थिथि खलः पुचःले काठमाडौंको भुगोलपार्क न्युरोडदेखि असनचोक सम्म प्रदर्शन गरेका हुन् । असनचोकमा आयोजित सभालाई सम्बोधन गर्दै तामाङ र नेवार अगुवाहरुले बागमति प्रदेशको नाम खारेज गरेर नेवाःताम्सालिङ राखिनुपर्ने आफुहरुको प्रमुख माग रहेको धारण राखे । उनिहरुले गणतन्त्र, संघियता र धर्मनिरपेक्षता विरुद्ध नबोल्न पनि खबरदारी गरेका छन् ।
सभालाई सम्बोधन गर्दै नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले बागमति प्रदेशको नाम नेवा : ताम्सालिङ राखिनु आफुहरुको न्युनतम शर्त रहेको भन्दै प्राप्तिको लागि आन्दोलन शुरु भएको उद्घोष गरे । उनले तामाङ र नेवार समुदायको ऐतिहासिक सभ्यताबाट विकसित संयुक्त भुमि प्रदेश नम्बर ३ लाई जर्बजस्त चुनावी अंकगणितको बलमा बागमति नामकरण गरी पन्चायती अन्चलको नाम पुनस्थापित गरिनु एकात्मक र केन्द्रिकृत मानसिकताबाट उठ्न नसक्नु रहेको भन्दै यसलाई अब तामाङ र नेवारहरुले सहेर नबस्ने चेतावनी दिए । पछिल्ला दिनमा देशमा परिवर्तन विरोधीहरु सल्बलाएको भन्दै अध्यक्ष तामाङले गणतन्त्र, संघियता र धर्मनिरपेक्षता विरुद्ध नबोल्न पनि खबरदारी गरे ।
नेवा दय दुवुका अध्यक्ष पवित्रमान बज्रचार्यले पहिचानको आन्दोलन कुनै जात, धर्म र पार्टि विरुद्ध नभएको बताउनुभयो । उहाँले नेवाः ताम्सालिङ यो भुमिमा बस्ने सबैको साझा भएको भन्दै पहिचानको मुद्धालाई गलत अर्थ नलगाउन आग्रह गरे । आदिवासि जनजातिको पहिचानको आन्दोलनलाई जातिवादको नाम दिएर राजनीेतिक दलहरुले राजनीति गरिरहेको भन्दै बज्रचार्यले त्यसो गरे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिए ।
नागरिक अगुवा एवं लेखक खगेन्द्र संग्रौलाले पहिचानको आन्दोलनलाई राज्यले बेलैमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । समानताको लागि भएका आन्दोलनहरु लामो समय लागेपनि कुनै दिन उत्कर्षमा पुग्ने भन्दै उनले कोसीमा जारी आन्दोलनलाई नजरअन्दाज गरे नेवा ताम्सालिङ हुदै देशैभर पचिानको आन्दोलन फैलाने बताए । नेपाल आदिवासि जनजाति महासंघका अध्यक्ष ग्याल्जे शेर्पाले आदिवासि जनजातिको पहिचानको आन्दोलनलाई राज्यले कम्तीको नआक्न चेतावनी दिए ।
सभामा किराँत यक्थुङ चुम्लुङका अध्यक्ष प्रेम याक्तेन, तमु ह्युल छोंजधिका अध्यक्ष कर्णबहादुर गुरुङ, मगरसंघका अध्यक्ष ज्ञानेन्द्र पुन, शेर्पा संघका महासचिव लाक्पा शेर्पा, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, आदिवासि महिला महासंघका अध्यक्ष छिमि शेर्पालगायतले आन्दोलनमा एक्यवद्धता जनाउँदै माग सम्बोधन गर्न जोड दिए । प्रदर्शनमा तामाङ ताम्बा, बोेम्बो र नेवाको धिमेबाजाको टोलीले झाँकी प्रदर्शन गरेका थिए ।






