काठमाडौं १९ डिसेम्बर २०२३ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद–बिक्री प्रकरणमा आफ्नो परिवारलाई जोड्नु संविधान र लोकतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई डिप्रेस्ड गराएर व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको बताए ।
‘गिरिजाबाबुले धमिजा काण्डमा गरेको भन्दा प्रचण्डले एनसेल काण्डमा ४ सय ८० गुणा बढी भ्रष्टाचार गरेको छ भनेर मलाई जोडिएको छ । साँचो भएको भए त म बाँच्न नसक्ने हुन्थ्यो । झुटो भएकोले म ढुक्क छु जति भने पनि सावित हुनेवाला छैन ।’ प्रचण्डले भने, ‘मेरो परिवारका सदस्य घट्दै गएर तीनजना छौं । एउटा (रेनु दाहाल) भरतपुर महानगरको मेयर छ, ऊ उतै बढी केन्द्रित हुन्छ। एउटा छोरी (गंगा दाहाल) छ विचरा त्यो कस्ति छ तपाईंहरुले थाहा पाउनु भएकै छ । उसलाई जोडेर बनाएको छ, उचालेको छ ।
यो संविधान, व्यवस्था, लोकतन्त्र र गणतन्त्रविरुद्धको हमला हो । एकथरीलाई प्रचण्डलाई नराम्रोसँग हिनताबोध र डिप्रेस्ड बनाएसम्म व्यवस्था उल्टाउन सकिँदैन भन्ने छ ।’बैठकमा सांसदहरुले एनसेलको शेयर खरिद गरेका गैरआवासीय नेपाली सतीशलाल आचार्यसँगको सम्बन्ध तथा प्रधानमन्त्री र उनकी छोरी गंगा दाहालको संलग्नताको विषय जोडेर प्रश्न सोधेका थिए ।






