एटा संवाददाता
लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले नेपालका लेखक, साहित्यकार एवं राजनीतिक विश्लेषक खगेन्द्र संग्रौलालाई बिदाइ र नेफिनका पूर्वमहासचिव एवं मानवशास्त्री डा. ओम गुरुङको एक कार्यक्रमबीच स्वागत गरेको छ ।
हेरोस्थित गोल्डेनसीप रेस्टुरेन्टमा गत बिहीबार १६ अगस्ट साँझ आयोजित कार्यक्रममा नेफिन युकेले उनीहरुको बिदाई तथा स्वागत गरेको हो । सो अवसरमा ‘नेपालमा आदिवासी जनजाति आन्दोलन ‘असफल’ हुनाका कारण र अबको बाटो’ विषयक अन्र्तक्रियासमेत गरिएको थियो । कार्यक्रममा मानवशास्त्री डा. गुरुङले नेपालका आदिवासी जनजातिहरुको आन्दोलन असफल होइन मन्द गतिले अगाडि बढिरहेको बताए । उनले आन्दोलन कमजोर र छायाँमा परेको भए तापनि मुद्दाहरु यथावत रहेको जिकिर गरे । राज्यसत्ताकै कारण आन्दोलन कमजोर हुन पुगेको, नेपालको शासन सत्ता परिवर्तन भए तापनि राज्यसत्ता परिवर्तन नभएको र आन्दोलन कमजोर हुनुमा आदिवासी जनजातिहरु पनि दोषी रहेको उनको भनाइ थियो ।
त्यस्तै, लेखक, साहित्यकार एवं राजनैतिक विश्लेषक खगेन्द्र संग्रौलाले पनि आदिवासी जनजातिहरुको आन्दोलन असफल होइन अहिले बिश्राम लिएको बताए । उनले आप्mनै कारण जनजातिहरुको आन्दोलन कमजोर बन्दै गएको प्रसंग कोट्याउँदै थप आन्दोलनको विकल्प नभएको बताए । उनले देश विकासका लागि स्थायी सरकार स्वागतयोग्य भए तापनि सरकारको ६ महिनाको काम गर्ने शैली हेर्ने हो भने जनमुखी कार्यहरु गर्छ भन्नेमा शंका व्यक्त गरे । उनले उत्पीडितहरु एक नभएसम्म लामो समय शासन गरेका शासकहरु झुक्दैनन् भन्दै अधिकारका लागि सबै एक हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, नेकपाका नेता पूर्ण लक्सम, नेपाली जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, नेपाली अन्तर्राष्ट्रिय समाज युकेका अध्यक्ष चन्द्र गुरुङ, प्राध्यापाक सुमाया राईलगायतले बोलेका थिए । सो अवसरमा तमुधिं युकेका सहकोषाध्यक्ष कुमार गुरुङ, बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका अध्यक्ष ले.रि. नारायणप्रसाद गुरुङलगायतले दुवैजनालाई खादा लगाई बिदाइ तथा स्वागत गरेका थिए ।
लेखक संग्रौला २४औं विश्व आदिवासी दिवसको अवसरमा गत २ अगस्टका दिन बेलायतका थिए भने डा. ओम गुरुङ निजी भ्रमणको क्रममा बेलायत आएका हुन् । नेफिन युकेका अध्यक्ष जंग सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नरेश काङमाङले स्वागत मन्तव्य दिएका थिए भने महासचिव खुसी लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।






