प्रकाश गुरुङ
अल्डरसट । ३१ वर्ष पहिले भर्ती लागेका भूपू ब्रिटिस गोर्खाहरुका जमातको वार्षिक भेटघाट कार्यक्रम अल्डरसटस्थित डिल्लोन क्लबमा गत शनिबार १८ अगस्टका दिन सम्पन्न भयो । १९८७ सालको अन्तमा नेपालभरिबाट १२५ जना लक्क जवानहरु ब्रिटिस गोर्खा सेनाका लागि भर्ना भएका थिए । आर्मीको भाषामा एकै पटक भर्ती लागेका साथीहरुबीच नम्बरी भनेर चिनिन्छन् र एकापसमा कहिले नबिर्सने माया जोडिएको हुन्छ । कारण, सिभिल लाइफबाट फौजी बन्दको कठोर तालिमसँगै गरेका हुन्छन् । त्यहीबेला आपसमा पाएको दुःखसुख, पीडा समानरुपमा भोग्ने नियमले झनै नजीक बनाइदिएको हुन्छ ।
प्रत्येक वर्षझैं यसपाला पनि हर्षाल्लासका साथ कार्यक्रम सम्पन्न भयो । आयोजक दिपक काउचा र विक्रम गुरुङ थिए । मुख्य उद्देश्य नै भेटघाट र रमाइलोमा केन्द्रित भएकाले पुरै समयको सदुपयोग भएको देखिन्थ्यो । खाना पिउने त भइहाल्ने भयो । डान्स प्लोर सुरुआतदेखि अन्तसम्म भरिएकै थियो । जय थुम्रोहाङको पुर्वेली भाका, विक्रम गुरुङको आधुनिक र पश्चिमी लोकगीत, दीपक काउचाको मल्टिनेसनल गीत, भीम पुनको मुरारी धुन तथा साइरीबाट धेरैले मनोरञ्जन लिएका थिए ।
१९८७ देखि २०१८ सालसम्मका दिनहरुलाई समेटेर ठट्टयाउलो पाराको कवितामा प्रकाश गुरुङ, ‘नम्बरी के हो’ शीर्षकमा प्रस्तुत भएका थिए ।
भ्याएसम्म कुनाकाप्चीमा लुकेका राम्रा नराम्रा सबै कुरा कवितामा समेटेका थिए । नम्बरीका सिनियर गजवीर थापाले पनि आफ्नो विगतका रमाइलो दिनहरुको याद दिलाउँदै आयोजक नम्बरीहरुलाई धन्यवाद दिँदै आउने सालको भेटघाटमा छोराछोरी नातिनातिनीहरुलाई पनि ल्याउन अग्रह गरे । नब्बे प्रतिशतभन्दा बढी हाम्रा छोराछोरीहरु ब्रिटिस उच्चा शिक्षा हासिल गरिसकेका छन् । उनीहरुको पनि भेटघाट परिचयको जरुरत छ थापाले भने । उपस्थित सबै बहिनीहरु, नम्बरी र भान्जीलाई धन्यवाद दिँदै भेटघाट वर्षको एकदिन हो, त्यसैले रमाइलो गरौं । ‘जति धेरै उपस्थित हुन सक्यो त्यति राम्रो तर धेरै थोरैभन्दा पनि मायाले डोर्याउने कुरा हो, जति छौं खुसीका साथ छौं, त्यो नै महत्वपूर्ण हो’ दीपकले भने ।
प्रत्येक अनुहारमा खुसीको झलक थियो । रमाइलो क्षणको अनुभव रह्यो । युनिक खालको ग्रुप फोटोग्राफ गरेर कार्यक्रम अन्त भयो ।






