लन्डन ५ जनवरी २०२४ । स्कटल्यान्डमा सक्रिय दर्जन नेपाली संस्थाले जाजरकोटका भूकम्पप्रभावितलाई न्यानो कपडा वितरण गरेका छन् ।
हभूकम्पबाट प्रभावित जाजरकोटको दुई गाउँपालिकामा ती संस्थाहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद् अध्यक्ष दिवाकर पाण्डेले जानकारी दिए । उनका अनुसार जाजरकोटका नलगाँड र बारेकोट गाउँपालिकामा विद्यालयका बालबालिका तथा महिलालाई कपडा वितरण गरिएको हो ।
गत पुस ९ गते नलगाँड गाउँपालिकास्थित जनकल्याण आधारभूत विद्यालयका ३७ जना अपाङ्गता भएका विद्यार्थीसहित करिब ३ सय जना विद्यार्थीलाई ट्रयाकसुट, टोपी र मोजा र पुस १० गते बारेकोट गाउँपालिकास्थित वडा नं २ रोकाया गाउँमा २ सय जना महिलालाई ब्लाङकेट र पछयौरा वितरण गरिएको थियो ।
गैरआवसीय नेपाली संघको स्कटल्यान्ड राज्य परिषद, नेपाल स्कटल्याण्ड एशोसिएसन, फोर्थ भ्याली एशोसिएसन, ग्लास्गो नेपाली एशोसिएसन, नेपाली साउथ साइद कम्युनिटी ग्लास्गो, नेपाल हिमालयन एशोसिएसन एबर्डिन, फाइभ नेपाली कम्युनिटी, फाइभ नेपाली महिला समूह, हिमालयन सेन्टर फर आर्ट एण्ड कल्चर, दियो क्लब यूके ग्लास्गो, स्कटनेपाल क्लब एडिनबरा र मलिका पञ्जेबाजा समूह लगायत संघसंस्थाबाट संयुक्त रुपमा संकलित रकमबाट सो सहयोग वितरण गरिएको हो ।
स्कटल्यान्डबाट पठाइएको सहयोग वितरणका लागि किशोर डंगोल, पत्रकार देवका लामिछाने, समाजसेवी गंगा न्यौपाने, नलगाँड नगरपालिकाका मेयर, बारेकोट गाउंपालिकाका अध्यक्ष, वडा नं. २ अध्यक्ष, विपत व्यवस्थापन समितिका संयोजक खगेन्द्र बोहोरा, पत्रकार भिम लामासहित स्थानीय शिक्षक-शिक्षिकासमेतले समन्वय र सहजीकरण गरिदिएका थिए ।






